२० असार, धनुषा –
धनुषाको सीमावर्ती क्षेत्र बिदेह नगरपालिक–२, दुहबीमा बिहीबार साँझ सशस्त्र प्रहरी बल र तस्कर समूहबीच झडप भएको छ। तस्करी सामग्री नियन्त्रणमा लिने प्रयासका क्रममा सो झडप भएको हो।
झडपमा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डिएसपी) दिनेश शर्मासहित ६ जना सुरक्षाकर्मी घाइते भएका छन्। सशस्त्र प्रहरी बल धनुषाका प्रमुख प्रहरी उपरीक्षक निर्मल खड्काका अनुसार घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
प्रहरी उपरीक्षक खड्काले तस्कर समूहले भारतीय भूभागबाट नेपालतर्फ तस्करी सामग्री ल्याउने प्रयास गरिरहेका बेला सुरक्षाकर्मीले नियन्त्रणमा लिन खोज्दा एक्कासी आक्रमण भएको जानकारी दिनुभयो। आत्मरक्षाका लागि सुरक्षाकर्मीले १२ राउन्ड अश्रुग्यास र ४ राउन्ड हवाई फायर गर्नुपरेको समेत उहाँले बताउनुभयो।
घटनापछि तस्कर समूह फरार भएका छन् भने घटनाको थप अनुसन्धानका लागि सुरक्षाकर्मीहरूको थप टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।
सिमावर्ती क्षेत्रमा तस्करी न्यूनीकरणका लागि निगरानी बढाइने सुरक्षा स्रोतहरूले बताएका छन्।











