वन संरक्षणमा सबैको सहभागिता आवश्यक : महोत्तरीमा समन्वय तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


१८ असार, जलेश्वर, महोत्तरी – ललन मण्डल/मिथलेश महतो

‘वन संरक्षणमा सबैको सहभागिता आवश्यक’ भन्ने मूल नाराका साथ डिभिजन वन कार्यालय, महोत्तरी जलेश्वरको आयोजनामा सञ्चारकर्मी, नागरिक समाज, सरोकारवाला निकायहरूबीच समन्वय र छलफलका लागि एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।

 

जलेश्वरमा आयोजित कार्यक्रममा वातावरणमैत्री संघसंस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता, युवा समूह, सहकारी तथा सामुदायिक वन प्रतिनिधि र विभिन्न सञ्चार माध्यमका पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्देश्य वन संरक्षणमा समुदाय, सञ्चारकर्मी तथा उपभोक्ताबीचको सहकार्य सुदृढ गर्दै पारदर्शिता र उत्तरदायित्वमा आधारित रणनीति अवलम्बन गर्नु रहेको थियो। छलफलमा सहभागीहरूले वन संरक्षणलाई सरकारी निकाय मात्र नभई सम्पूर्ण समुदायको साझा दायित्वका रूपमा स्वीकार गर्नुपर्नेमा जोड दिए।

डिभिजन वन कार्यालयले कार्यक्रममा पछिल्लो समय वन अपराध नियन्त्रण, सामुदायिक वन व्यवस्थापन, काठ तथा दाउरा वितरण, मुद्दा दायर एवं फछ्र्यौट, साथै काठ तस्करी नियन्त्रणका क्षेत्रमा प्राप्त उपलब्धिहरूको प्रतिवेदन प्रस्तुत गरेको थियो। कार्यालयका अनुसार चालु आर्थिक वर्षमा ८ वटा वनसम्बन्धी मुद्दा दायर गरिएका छन् भने ४७८.०६ घनफुट काठ बरामद गरिएको छ। साथै अवैध वन दोहनमा प्रयोग गरिएका ट्र्याक्टर, मोटरसाइकल, गोरु, वन्चरोजस्ता सवारीसाधन तथा उपकरणहरू नियन्त्रणमा लिइएको जानकारी गराइएको छ।

त्यसैगरी विगत वर्षमा देखिएको बेरुजु तथा फछ्र्यौटसम्बन्धी विवरण सार्वजनिक गर्दै डिभिजन वन कार्यालयले अनियमितता सम्बन्धी छानबिन प्रक्रिया अघि बढाइएको पनि जनाएको छ।

कार्यक्रममा डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख अजय कुमार मिश्रले प्रमुख वक्ताको रूपमा बोल्दै वन संरक्षणमा पारदर्शिता, उत्तरदायित्व र स्थानीय सरोकारवालासँगको सहकार्यलाई अझ मजबुत बनाउँदै समुदायको प्रत्यक्ष सहभागिता अनिवार्य रहेको धारणा व्यक्त गरे। उनले वातावरणीय सन्तुलन र जैविक विविधता जोगाउन स्थानीय स्तरमै सचेत, जिम्मेवार र सक्रिय भूमिका निर्वाह गर्न सबैलाई आह्वान गरे।

नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष महेश दासले कार्यक्रमको प्रमुख अतिथि रहँदै सञ्चारकर्मीहरूले वन तथा वातावरण संरक्षणजस्ता संवेदनशील विषयमा जनचेतना फैलाउने महत्त्वपूर्ण जिम्मेवारी वहन गर्नुपर्ने उल्लेख गरे। यस्ता कार्यक्रममा सञ्चार क्षेत्रको सक्रिय सहभागिता सकारात्मक अभ्यास भएको उनको भनाइ थियो।

कार्यक्रममा सहभागीहरू सबैले वन संरक्षणका साझा उद्देश्यमा एकजुट हुँदै सरकार र समुदायबीचको सहकार्यलाई प्रभावकारी बनाउँदै संरक्षण प्रयासलाई संस्थागत गर्नुपर्नेमा जोड दिएका थिए।

सहभागीहरूको धारणा अनुसार यो समन्वय अन्तरक्रिया कार्यक्रमले वन संरक्षणप्रति समुदायको सरोकार, सञ्चारकर्मीहरूको सक्रियता र सरकारी निकायको उत्तरदायित्वलाई एउटै मञ्चमा ल्याउने महत्त्वपूर्ण प्रयास बनेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको