१५ असार, काठमाडौं –
जनमत पार्टीले कोशी प्रदेश कमिटीको अध्यक्षमा बुद्धिराज न्यौपानेलाई सर्वसम्मत रूपमा चयन गरेको छ। मोरङको टंकिसिनुवारीमा सम्पन्न दुईदिने प्रदेशस्तरीय कार्यकर्ता भेलाले उनलाई अध्यक्ष चयन गरेको हो।
पार्टीका केन्द्रीय प्रशासन विभाग प्रमुखसमेत रहेका न्यौपाने अन्तरपार्टी समन्वयको भूमिकामा लामो समयदेखि सक्रिय रहँदै आएका छन्। कोशी प्रदेशको संगठन सुदृढ बनाउन रणनीति अनुरूप उनीलाई नेतृत्व सुम्पिएको जनमत पार्टीले जनाएको छ।
राजनीतिक यात्रा नेपाली कांग्रेसबाट सुरु गरेका न्यौपाने पूर्वी नेपालमा लोकप्रिय नेताका रूपमा परिचित छन्। संगठन निर्माणमा सक्रिय भूमिका खेल्ने क्षमताका आधारमा उनी पार्टी नेतृत्वका लागि योग्य ठहरिएको जनमतको दाबी छ।
शुक्रबार र शनिबार मोरङमा आयोजित कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्र र लोसपाका केन्द्रीय नेतासहित सयौं कार्यकर्ताले जनमत पार्टीमा प्रवेश गरेका थिए।
पार्टी अध्यक्ष डा. सीके राउतको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमलाई कोशी प्रदेशमा जनमतको संगठन विस्तारको रणनीतिक पहलका रूपमा हेरिएको छ।











