छ वर्षीया बालिका गुलाप्सा खातुन हत्या प्रकरणका फरार दुई प्रतिवादी पक्राउ


१५ असार, गौशाला महोत्तरी –

साढे चार वर्षअघि बलात्कारपछि हत्या गरिएकी महोत्तरीकी ६ वर्षीया बालिका गुलाप्सा खातुन प्रकरणका थप दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले आइतबार पत्रकार सम्मेलन गरी सो घटनामा संलग्न भनिएका गौशाला नगरपालिका–५ घर भई हाल बर्दिवास नगरपालिका–१४, शुभम बस्तीमा बस्दै आएका ६० वर्षीय राजकिशोर साह र उनकी ५१ वर्षीया श्रीमती शुशिला देवी साहलाई सार्वजनिक गरेको हो।

दुवै जना भारतमा लुकिछिपी बस्दै आएका थिए। आफन्तसँग भेटघाट गर्न जलेश्वर नगरपालिका–१२, नैन्हीस्थित भारतीय सीमाक्षेत्र आएको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई शुक्रबार पक्राउ गरेको महोत्तरीका प्रहरी प्रमुख एसपी हेरम्ब शर्माले जानकारी दिए।

पक्राउ परेका दुबैजनालाई आवश्यक कानुनी कारवाहीका लागि आइतबार महोत्तरी जिल्ला अदालतमा पेश गरिएको छ।

गुलाप्सा खातुनको २०७७ साल मंसिर ९ गते बर्दिवास–१४ स्थित घरनजिकैको झाडीमा शव फेला परेको थियो। बाराको कलैया नगरपालिका–१५ घर भई बर्दिवास–१४ मा डेरा गरी बस्दै आएकी गुलाप्सा दुई दिनअघि घरबाट हराएकी थिइन्।

घटनाको अनुसन्धानबाट गुलाप्सालाई राजकिशोर साहका छोरा २६ वर्षीय अरुण कुमार साहले ललाईफकाई घरभित्र लगेर बलात्कारपछि हत्या गरेको खुलेको थियो। शवलाई बोरामा हालेर झाडीमा फालिएको थियो। अरुण हाल पुर्पक्षका लागि जलेश्वर कारागारमा रहेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको