जलेश्वर नगरपालिकामा मेयरद्वारा इन्जिनियरमाथि हातपात, सीसीटीभी मूल्याङ्कन विवादले उग्र रूप लियो


११ आषाढ, जलेश्वर, महोत्तरी —

जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारले नगरका इन्जिनियर सन्जु गुन्जन ठाकुरमाथि हातपात गरेका छन्। नगर प्रमुख प्रशासकीय अधिकृत जयकुमार साहको कार्यकक्षभित्र सोमबार दिउँसो ४ बजे मेयरले इन्जिनियर ठाकुरलाई गालीगलौज गर्दै धक्का दिई हातपात गरेको नगरपालिकाका कर्मचारीहरूले बताएका छन्।

पीडित इन्जिनियर ठाकुरका अनुसार जलेश्वरमा जडान गरिएका सीसीटीभी क्यामेराको मूल्याङ्कन १० लाख रुपैयाँ मात्रै भए पनि १८ लाख मूल्याङ्कन गर्न दबाब दिँदै आएको मेयरले, आफूले दबाब अस्वीकार गरेपछि हातपात गरेका हुन्।

“सहर क्षेत्रमा जडान गरिएको क्यामेरा गुणस्तरहीन थियो, जसलाई सप्लायर्सले नै फेरबदल गरेका थिए,” ठाकुरले भने, “तर त्यसको मूल्य कृत्रिम रूपमा बढाउन दबाब दिइएको थियो। मेयरले पटक–पटक धम्की पनि दिएका थिए।”

ठाकुरले जिल्ला प्रशासन कार्यालयमा मेयरविरुद्ध उजुरी दिएको जानकारी दिएका छन्। साथै, उनले फ्लड लाइटको मूल्याङ्कनमा पनि त्रुटि देखिएको र त्यही त्रुटिको आडमा अनियमित मूल्याङ्कन गर्न दबाब दिइएको दाबी गरेका छन्।

प्रमुख प्रशासकीय अधिकृत जयकुमार साहले पनि मेयरले आफ्नै कार्यकक्षमा इन्जिनियरमाथि हातपात गरेको पुष्टि गर्दै विवाद समाधानका लागि पहल भइरहेको जानकारी दिएका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको