१० असार, महोत्तरी — मिथलेश महतो
बलवा नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ५२ करोड ९१ लाख ९४ हजार ५७६ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगर प्रमुख रामविजय महतोको अध्यक्षतामा बसेको दशौँ नगरसभा तथा चौथो बजेट अधिवेशनमार्फत नीति, कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ।
नगर प्रमुख महतोले उद्घाटन सत्रमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा योगदान पु¥याउने ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै सबै जनप्रतिनिधि, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी तथा नगरवासीप्रति धन्यवाद ज्ञापन गरे।
उनले नागरिकको जीवनस्तर उकास्न शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिइएको उल्लेख गर्दै भने, “जनताको चाहना अनुसारको योजना ल्याएका छौं। यसको प्रभावकारी कार्यान्वयनका लागि सबै तहको सहकार्य आवश्यक छ।”
बजेटका मुख्य बुँदाहरू:
🔹संघीय सरकारबाट प्राप्त अनुदान
* वित्तीय समानीकरण अनुदान: ११ करोड ५० लाख
* सशर्त अनुदान: २५ करोड ३१ लाख
* विशेष अनुदान: ६७ लाख
* सम्पूरक अनुदान: १ करोड ६२ लाख
* राजस्व बाँडफाँड: १० करोड ८१ लाख ९४ हजार ५७६
🔹आन्तरिक स्रोत
* स्थानीय कर र राजस्व: २ करोड
* स्थानीय राजस्व बाँडफाँड: १ करोड
🔹खर्च विनियोजन
* चालु खर्च: ३२ करोड ८५ लाख ९४ हजार ५७१
* पुँजीगत खर्च: २० करोड ६ लाख
कुल अनुमानित बजेट: ५२ करोड ९१ लाख ९४ हजार ५७६ रुपैयाँ रहेको छ।
नगर उपप्रमुख रामदुलारी देवीले बजेट नीति तर्जुमा संविधानको भाग–४, धारा ५९, अनुसूची ८, स्थानीय सरकार सञ्चालन ऐन २०७४, दिगो विकास लक्ष्य (SDG), संघीय सरकारको प्राथमिकता तथा वडाबाट सिफारिस भएका योजनाहरूको आधारमा गरिएको जानकारी दिइन्। उनले सर्वसाधारणको सरोकारका क्षेत्रमा योजनाबद्ध रूपमा बजेट खर्च गरिने प्रतिबद्धता व्यक्त गरिन्।











