महोत्तरीका १४ स्थानीय तहले सार्वजनिक गरे २०८२/८३ को बजेट, बर्दिवासमा शैक्षिक हबको योजना


१० असार, महोत्तरी — मिथलेश महतो

महोत्तरीका १५ स्थानीय तहमध्ये १४ स्थानीय तहले आर्थिक वर्ष २०८२/८३ का लागि बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरेका छन्। मंगलबार मात्रै गौशाला, बर्दिवास, औरही, बलवा, पिपरा र सोनमा गरी ६ स्थानीय तहले आ-आफ्नो बजेट सार्वजनिक गरेका छन्। यसअघि रामगोपालपुर, मनरा शिशवा, एकडारा, लोहरपट्टी, मटिहानी, महोत्तरी, सम्सी र भंगहा नगर/गाउँपालिकाले बजेट सार्वजनिक गरिसकेका छन्। जलेश्वर नगरपालिका भने अहिलेसम्म बजेट ल्याउने क्रममा बाँकी छ।

गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतोले १४औं नगरसभामा आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब १ लाख ५५ हजार ५०० रुपैयाँको बजेट प्रस्तुत गरेका छन्। उक्त बजेटमा संघीय सरकारको अनुदानबाट ५० करोड २४ लाख, प्रदेश सरकारको अनुदानबाट २ करोड ५५ लाख १७ हजार, राजस्व बाँडफाँडबाट २० करोड ७ लाख ३८ हजार ३९२ तथा आन्तरिक आम्दानीबाट २७ करोड १५ लाख १०८ रुपैयाँको स्रोत सुनिश्चित गरिएको छ।

बर्दिवास नगरपालिकाले यस वर्ष १ अर्ब २२ करोड ४० लाख १० हजार रुपैयाँको बजेट ल्याएको छ। नगर प्रमुख प्रह्लाद क्षेत्रीले १६ औं नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा बर्दिवासलाई शैक्षिक हबको रुपमा विकास गर्ने योजनालाई प्राथमिकतामा राखिएको छ। यस अन्तर्गत विद्यालय भवन निर्माण, खेलमैदान, विद्यालयमा सीसीटिभी जडान, सूचना प्रविधिको विकास, उत्कृष्ट शिक्षक, विद्यार्थी र कर्मचारीलाई प्रोत्साहनलगायत कार्यक्रम समावेश छन्।

औरही नगरपालिकाका नगर प्रमुख प्रदीपकुमार खड्काले १६औं नगरसभामार्फत ४५ करोड २७ लाख ७७ हजारको बजेट प्रस्तुत गरे। बलवा नगरपालिकाका नगर प्रमुख रामविजय महतोले ५२ करोड ९१ लाख ९४ हजार ५७६ रुपैयाँको बजेट प्रस्तुत गरेका छन्।

सोनमा गाउँपालिकाका अध्यक्ष विशेश्वरप्रसाद यादवले ४९ करोड ३८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका छन् भने पिपरा गाउँपालिकाकी उपाध्यक्ष बन्दना पाण्डेले ५३ करोड ५१ लाख ४७ हजार ३०० रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको