१० आषाढ, महोत्तरी, मिथलेश महतो।
महोत्तरीको बर्दिवास नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब २२ करोड ४० लाख १० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १६ औं नगरसभा मार्फत नगरप्रमुख प्रहलाद कुमार क्षेत्रीले बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरेका छन्।
यस वर्षको बजेटमा नगरलाई शैक्षिक हबको रुपमा विकास गर्ने लक्ष्यलाई प्रमुख प्राथमिकतामा राखिएको छ। उक्त योजनाअन्तर्गत विद्यालय भवन निर्माण, खेलमैदान निर्माण, विद्यालयहरूमा सिसिटिभी जडान, सूचना प्रविधिको विकास, उत्कृष्ट विद्यालय, शिक्षक, विद्यार्थी तथा कर्मचारीलाई प्रोत्साहन दिने कार्यक्रमहरु समावेश गरिएको छ।
नगरपालिकाले निजि स्रोतबाट न्यूनतम दरबन्दी पूरा गरी नगर शिक्षक तथा दरबन्दी मिलान गर्ने योजना पनि अघि सारेको छ। प्रत्येक वडामा कम्तीमा एक खेलमैदान निर्माण गर्ने नीति निरन्तरता पाउनेछ। स्वास्थ्य सेवामा पहुँच बढाउन ‘घरदैलो नर्स कार्यक्रम’ र ‘स्वास्थ्य शिविर’ सञ्चालन गरिनेछ। साथै, विपन्न, गरिब तथा दलित परिवारलाई लक्षित गरी निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम ल्याइनेछ।
बालमैत्री नगर बनाउने, ज्येष्ठ नागरिक सम्मानका लागि संजाल निर्माण गर्ने, जग्गा वर्गीकरणको समस्या समाधान गर्न नापी विभागसँग समन्वय गर्ने, कृषि पकेट क्षेत्र घोषणा गर्दै कृषि बाटो र खेतमा विद्युतीकरण गर्ने, मलखाद र बीउ बिजन सहज रूपमा उपलब्ध गराउने जस्ता कार्यक्रम पनि समावेश छन्।
नगरपालिकाले लागुऔषध विरुद्ध जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने तथा समाजमा विद्यमान कुरिति, कुप्रथा, लैङ्गिक हिंसा, मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सचेतना अभियान सञ्चालन गर्ने घोषणासमेत गरेको छ।
बजेटको प्राथमिकता शिक्षादेखि स्वास्थ्य, कृषि, खेलकुद र सामाजिक क्षेत्रमा देखिएको स्पष्ट छ। नगरपालिका आगामी वर्षलाई विकासको गतिमा अघि बढाउने प्रतिबद्धताका साथ प्रस्तुत भएको देखिन्छ।










