८ असार, महोत्तरी – जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरी र गौशाला नगरपालिकाको समन्वयमा सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको आयोजना यातायात व्यवस्था कार्यालय, बर्दिबासले गरेको हो।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीका प्रमुख लक्ष्मी राज जोशीले पछिल्लो समय जिल्लामा सडक दुर्घटनाको दर उच्च रहेको बताउनुभयो। उहाँका अनुसार, चालु आर्थिक वर्षमा मात्रै जिल्लामा करिब ३७ जनाको सडक दुर्घटनामा मृत्यु भइसकेको छ।
“सडकमै धान, मकै, खाद्यान्न सुकाउने जस्ता कार्यले दुर्घटनाको जोखिम बढाएको छ,” प्रमुख जोशीले भन्नुभयो, “त्यस्तै, ९० प्रतिशत दुर्घटनामा मोटरसाइकल चालकले हेलमेट नलगाएको पाइन्छ। दुर्घटना न्यूनीकरणका लागि नागरिक आफैँ सचेत हुनु जरुरी छ।”
उहाँले थप भन्नुभयो, “हामीले पटक–पटक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छौँ, तर नागरिकमा अपेक्षित व्यवहारिक परिवर्तन नआएको कारणले दुर्घटना घट्न सकेको छैन। किसान क्षेत्र भएकाले खेतबारी जान समेत हेलमेट नलगाई सवारी चलाउने प्रवृत्तिले दुर्घटना बढाएको देखिन्छ।”
महोत्तरीमा दैनिक औसत ५–६ वटा गम्भीर प्रकृतिका सवारी दुर्घटना हुने गरेको जनाइएको छ।
कार्यक्रममा यातायात व्यवस्था कार्यालय बर्दिबासका प्रमुख राजकिशोर साहले सडक सुरक्षा सबैको साझा जिम्मेवारी भएको धारणा व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो, “सवारी साधन कुनै एक व्यक्तिको नाममा दर्ता भए पनि त्यसको प्रयोग र सुरक्षाको जिम्मेवारी सम्पूर्ण परिवारको हुन्छ। यसमा सबैको ध्यान जानु आवश्यक छ।”
साहले ट्राफिक नियमको पालना नगर्नु, क्षमता भन्दा बढी यात्रु चढाउनु, मोबाइल प्रयोग गर्नु, लागूपदार्थ सेवन गर्नु तथा बिना लाइसेन्स सवारी चलाउनुजस्ता प्रवृत्तिले दुर्घटनालाई निम्त्याइरहेको उल्लेख गर्नुभयो।
“केवल ट्राफिकको अनुगमनले मात्र पुग्दैन,” उहाँले भन्नुभयो, “समाजमै सडक सुरक्षाप्रति सचेतना र अनुशासनको विकास आवश्यक छ।”
वक्ताहरूले दुर्घटना न्यूनीकरणका लागि हरेक स्थानीय तहमा ट्राफिक जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।
विद्यालयदेखि समुदाय तहसम्म ट्राफिक शिक्षा विस्तार गर्नुपर्ने र चेतनामूलक गतिविधिमा पालिकाको प्रत्यक्ष संलग्नता आवश्यक रहेको उनीहरूको भनाइ थियो।












