२० जेठ, सर्लाही – सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका वडा नम्बर ६ स्थित बसतपुर भित्री सडकखण्डमा लागूऔषध गाँजासहित दुई जना युवक पक्राउ परेका छन्।
मंगलबार दिउँसो करिब १:४० बजेको समयमा हरिपुर्वा प्रहरी चौकीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको गस्ती टोलीले बसतपुरबाट हरिपुर्वातर्फ आउँदै गरेको ज ६ प २३६ नम्बरको मोटरसाइकललाई शङ्कास्पद अवस्थामा रोकी चेकजाँच गर्दा, झोलामा लुकाएर राखिएको करिब १० किलो ५०० ग्राम लागूऔषध (गाँजा) फेला परेको सर्लाही प्रहरीले जनाएको छ।
गाँजा सहित पक्राउ पर्नेमा मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका वडा नम्बर १३ श्रीनगर बस्ने ३७ वर्षीय मनोज कुमार महतो र सोही मोटरसाइकलमा पछाडि सवार १८ वर्षीय राजेश मलिक रहेका छन्। दुवै जनालाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका उनीहरूलाई सर्लाही जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।











