१९ बैशाख,काठमाडौं- लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालले आज जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतसँग विशेष भेटघाट गर्दै महत्त्वपूर्ण ज्ञापनपत्र बुझाएको छ।
पार्टीको केन्द्रीय कार्यालयमा सम्पन्न भेटघाटमा समितिका प्रतिनिधिहरूले नेपाल सरकारका तर्फबाट गठित छानबिन समितिको प्रतिवेदन अहिलेसम्म कार्यान्वयन नभएकोप्रति गम्भीर आपत्ति जनाएका छन्।

उक्त प्रतिवेदन लघुवित्त तथा वित्तीय संस्थाहरूबाट पीडित सर्वसाधारणको समस्या समाधानका लागि तयार पारिएको भए पनि, सरकारले त्यसलाई बेवास्ता गर्दै आएको संघर्ष समितिको भनाइ छ।
यसै सन्दर्भमा समितिले अध्यक्ष डा. राउतलाई उक्त प्रतिवेदन संसदमा बहस गरी सार्वजनिक गराउने पहल गर्न आग्रह गरेको छ।
समितिका प्रतिनिधिहरूले देशका विभिन्न स्थानमा भइरहेको लघुवित्तजन्य अत्याचार, अत्यधिक ब्याजदर, अपमानजनक ऋण असुली र आत्महत्यासम्म पुग्न बाध्य भएका घटनाहरूको उल्लेख गर्दै जनमत पार्टीबाट आवाज उठाइदिने अपेक्षा व्यक्त गरेका छन्।
अध्यक्ष राउतले ज्ञापन बुझ्दै सामाजिक न्यायका पक्षमा पार्टी सधैं अग्रसर रहेको बताउँदै आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
संघर्ष समितिले “जय संघर्ष” नारासहित लघुवित्त पीडितहरुको न्यायका लागि दबाबमूलक कार्यक्रमहरूलाई अझ सशक्त बनाउने बताएको छ।












