१८ बैशाख, बर्दिबास – बर्दिबास नगरपालिका–२ र ५ का ९२ घरपरिवारले दशकौँदेखि प्रतीक्षा गरेको जग्गाधनी प्रमाण–पूर्जा (लालपूर्जा) प्राप्त गरेका छन्। जिल्लाको नापी कार्यालय जलेश्वरले लालपूर्जा वितरण गरेपछि स्थानीय बासिन्दामा उत्साह र खुशी छाएको छ।
नगरप्रमुख प्रह्लादकुमार क्षेत्री, नापी कार्यालयका प्रमुख रामविनय सिंह, वडाध्यक्ष श्यामराजा सिंह र काहारमान स्याङ्वाले संयुक्त रूपमा लालपूर्जा वितरण गरेका हुन्। वितरणअनुसार बर्दिबास–५ का ६८ र बर्दिबास–२ का २४ घरपरिवार लाभान्वित भएका छन्।
८० वर्षीया भीममाया आलेका लागि यो दिन विशेष थियो। बर्दिबास–२ स्थित बँदेलखाडीकी आलेले भनिन्, “यही जग्गाको कागज पाऊ भनेर दौडादौड गर्दागर्दै श्रीमान्को निधन भयो। आज मैले पाएँ, अब चाहिँ घर आफ्नै जग्गामा भएको निस्सा भयो।”
उनका दिवंगत श्रीमान् कबिरमान आलेले ६० वर्षअघि बनाएको घर अहिले कानुनी रूपमा पनि उनको स्वामित्वमा आएको छ।
त्यस्तै, बर्दिबास–५ ढुङ्गेकी ७० वर्षीया बुद्धिमाया आले पनि निकै खुशी देखिन्थिन्। “दिवंगत श्रीमान् खड्कबहादुर आलेको ५० वर्षअघिको मेहनत आज साकार भयो,” उनले भनिन्।
लालपूर्जा पाउनेमध्ये ८० प्रतिशतभन्दा बढी मगर समुदायका छन्। ७५ वर्षीय बुद्धबहादुर थापा मगर, जो पक्षघातका कारण हिँडडुल गर्न सक्दैनन्, लालपूर्जा पाउँदा भावुक बने। “अब म पनि जग्गाधनी भएँ,” उनले भने, “शरीरको सारा पीडा बिर्सिएँ।”
लामो समयदेखि लालपूर्जा नपाएर समस्या भोग्दै आएका स्थानीयको लागि यो वितरण अभियान आशाको किरण बनेको छ।











