७ चैत्र, काठमाडौं– राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले मुलुकमा बहुलपहिचान र बहुलशासन कायम गराउन आवश्यक रहेको बताएका छन् ।
एकलपहिचान र एकलशासन लादिएको टिप्पणी गर्दै उनले देशमा बहुलपहिचान र बहुलशासन कायम गराउन आवश्यक रहेको बताएका हुन् ।
काठमाडौंको नयाँ बानेश्वरको एक पार्टी प्यालेसमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रम सम्बोधनमा अध्यक्ष महतोले देशमा बहुलपहिचान कायम गरी बहुलराष्ट्रिय राज्यको स्थापना गर्न राष्ट्रिय मुक्ति पार्टी अगाडि बढेको बताए ।
उनले परिवर्तनको लडाईँमा युवाहरू सक्रिय भएर लाग्नुपर्नेमा पनि जोड लिए ।
‘अहिलेका प्रमुख राजनीतिक दलका शीर्ष नेताले ३५ वर्षदेखि देशलाई एकल नश्लीय चरित्रको आधारमा शासनसत्ता सञ्चालन गरेकाले अनेक समस्या उत्पन्न भयो,’ महतोले भने, ‘देश आर्थिक रुपमा धराशयी हुन पुग्यो । देशको अर्थतन्त्र उकास्न, अधिकार र पहिचानको स्थापना गर्न, स्वशासनको अभ्यास गराउन सारा नेपाली जनता एकजुट भएर लाग्नुपर्ने समय आयो ।’
कार्यक्रममा दुई सयभन्दा बढी नेता(कार्यकर्ताहरु विभिन्न पार्टी परित्याग गरेर राष्ट्रिय मुक्ति पार्टीमा समाहित भएका उक्त दलले दाबी गरेको छ ।
कार्यक्रममा नेताहरू बुद्ध छिरिङ मोक्तान, कौशलकुमार सिंह, सुमन सायमी, केशव झा, सन्तोष मेहता, कमला गुरुङ, जुनतारा मगर, अनिल महासेठ, रविन्द्रकुमार श्रेष्ठलगायतका वक्ताहरूले पार्टीको विचार र भावी कार्यक्रमबारे धारणा राखेका थिए ।



















