बर्दिवासको हात्तीमारा खोलामा पुल निर्माण सुरु


ललन मण्डल । बर्दिवास मुख्य चौक र राईमण्डल हुँदै बीपी राजमार्ग जोड्ने नयाँ पुल निर्माण कार्य सुरु भएको छ । बर्दिवास नगरपालिका वडा नं. १ का गालटार टोल, तामाङ टोल, र बर्दिवास नगरपालिका १ राटमाटे गाउँलाई जोड्नका लागि ‘हात्तीमारा’ खोलामा आरसीसी प्रविधिमा आधारित पक्की पुल निर्माण सुरु भएको हो ।
वर्षायाममा पुल नहुँदा स्थानीयलाई करिब ९ किलोमिटर लामो घुम्ती बाटो हुँदै बर्दिवास नगरपालिका वडा नं. ३ पाटु गाउँ हुँदै यात्रा गर्नुपर्ने बाध्यता थियो । स्थानीयले यस समस्या समाधानका लागि पटकपटक माग गरेपछि बर्दिवास नगरपालिकाले पुल निर्माणको काम अघि बढाएको हो । नगरप्रमुख प्रहलाद कुमार क्षेत्रीका अनुसार, पुल निर्माणले स्थानीयलाई सजिलो मात्र बनाउने होइन, धार्मिक र पर्यटकीय स्थल राईमण्डलसम्मको पहुँचलाई पनि सहज बनाउनेछ ।
पुल निर्माणपछि बर्दिवास नगरपालिकाको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल राईमण्डलसम्मको यात्रा समय घट्नेछ । पहिले झण्डै दुई घण्टा लाग्ने यात्रा अब पुल बनेपछि बर्दिवास चौकदेखि मात्र २० मिनेटमा पुग्न सकिने नगरप्रमुख क्षेत्रीले बताए । राईमण्डलको कालोपत्रे सडक विस्तारका लागि पनि पहल गरिने प्रतिबद्धता उनले व्यक्त गरे ।
निर्माण कम्पनी ओम साईबाबा निर्माण सेवाका इन्जिनियर मोहन तिवारीका अनुसार पुलको लम्बाइ २५ मिटर र चौडाइ ८.४ मिटर हुनेछ । पुल आरसीसी (रेइन्फोस्र्ड सिमेन्ट कङ्क्रिट) प्रविधिमा निर्माण हुनेछ । कुल लागत १ करोड १७ लाख रुपैयाँ रहेको छ, जुन बर्दिवास नगरपालिका २०८०÷८१ को बजेटबाट विनियोजित भएको हो । पाँच महिनाभित्र निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ।
स्थानीय प्रतिनिधि एवम् वडा सदस्य श्याम कुमार तामाङले पुल बनेपछि गाउँको आर्थिक र सामाजिक विकासमा ठूलो टेवा पुग्ने बताए । सडक विस्तार र कालोपत्रे सडक निर्माणले राटमाटे र राईमण्डल क्षेत्रको विकासमा अझै मद्दत पुग्ने विश्वास स्थानीयले व्यक्त गरेका छन् ।
बर्दिवास नगरपालिका भित्रका धार्मिक र पर्यटकीय स्थलहरूको सहज पहुँचका लागि सडक विस्तारलाई प्राथमिकता दिइने । पुल निर्माणले मात्र होइन, यस क्षेत्रमा आर्थिक गतिविधि बढाउन पनि नगरपालिकाले पहल गर्ने योजना बनाएको छ । हात्तीमारा पुल निर्माण पूरा भएपछि स्थानीय यातायात, व्यापार, र पर्यटनमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको