बर्दिबास / केही दिनदेखि मधेश प्रदेशमा अत्यधिक जाडो बढेपछि बर्दिवासका विद्यालय पाँच दिनकालागी बन्द हुँने भएका छन्। अहिले चिसोले बर्दिवासका नागरिकको जनजीवन प्रभावित बनेको छ। केही दिनयता पारिलो घाम नलागेका र दिन बिराएरै शितलहर चलेका कारण यहाँको जनजिबनमा थप समस्या भएको हो । जाडोले खासगरी विपन्न तथा गरिब परिवार बढी प्रभावित भएका छन्।
यसैक्रममा बर्दिवास क्षेत्रमा चिसो बढेपछि चोकचोकमा दाउरा वितरण थालिएको छ । बर्दिवास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीको बिशेश पहलमा नगरपालिकाको वडा नम्बर १,२,१३ र १४ को चोकचोकमा बुधवारदेखी आगो ताप्ने व्यवस्था मिलाईएको होे ।
तराई क्षेत्रमा विगत केही दिनयता चिसो बढेको छ । हुस्सु, कुहिरो तथा शीतलहरले जनजीवन कष्टकर भएपछि नगरपालिकाले नगर प्रहरीको सहयोगमा नगरक्षेत्रको रूखका जरा उखेलेर र काटेर बजार क्षेत्रका चोकचोकमा आगो ताप्ने व्यवस्था मिलाएको बताईएको छ । चिसो र शितलहर अझ केहि दिनसम्म चलेमा नगरपालिकाले सामुदायिक वनसँग दाउरा मागेर नगरपालिकाको बजार क्षेत्र र अन्य केही टोलमा आगो ताप्ने व्यवस्था मिलाईने नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले बताए ।
उनले भने, शितलहर अझै केहिदिन चलेमा नगरबासीलाई थप आगो ताप्ने व्यवस्था मिलाउँछौँ यस्कालागी बन संग दाउरा मागेका छौ,अहिले रूखका जरा निकालेर चोकचोकमा आगो ताप्ने व्यवस्था मिलाइएको छ ।”
नगरपालिकाले चोकचोकमा आगो बालेर बाटोमा हिँड्ने नागरिकलाई समेत सुविधा हुने स्थानीयहरु बताउँछन् ।











