बर्दिवास । महोत्तरी जिल्लाको निर्वाचन क्षेनं.१ (क) की सांसद शारदादेवी थापाले बर्दिवासमा लगाइएको सस्तो दशैं बजारमा कडा सुरक्षा ब्यवस्थाको माग गरेकी छन् । प्रमुख अतिथिकारूपमा बुधबार बिहान सस्तो दशैं बजारको उद्घाटन गर्दै प्रदेश सांसद थापाले बजारमा भीडभाड हुने भएकाले सुरक्षा ब्ववस्थामा विशेष सतर्कता अपनाउन इलाका प्रहरी कार्यालय बर्दिवासको ध्यानाकर्षण गराएकी हुन् ।
सांसद थापाले बर्दिवास पहिलो पटक चाडवाड लक्षित सस्तो बजार लगाएकामा खुसी ब्यक्त गर्दै नाम सस्तो भएर मात्र हुँदैन साच्चै उपभोक्ताले महसुश गर्ने हुनु पर्ने बताइन् । ‘सस्तोका नाममा कम गुणस्तरका सामान भिडाउने काम पनि हुनु भएन’ उनले भनिन् ‘यस भेगका उपभोक्ताले सस्तोमा गुणस्तरीय सामान पाउन सकुन ।’ पहिले सस्तो बजार भनेर खाद्य सामाग्री मात्र राखिने गरेकामा बर्दिवासमा लागेको सस्तो बजारमा सबै किसिमका सामाग्री रहनु खुसीको विषय भएको उनले बताइन् ।
आउँदा वर्षदेखि सस्तो बजारमा स्टल राख्न चाहने सबै ब्यापारी अट्ने गरी फराकिलो ठाउँको ब्यवस्था गर्न उनले उद्योग वाणिज्य संघको ध्यानाकर्षणसमेत गराइन् । स्टल राख्ने सटर भाडाँ महंगो भएको गुनासोलाई पनि सम्बोधन गर्न उवासंघलाई उनको सुझाव थियो । अहिले बजारमा नयाँ मागन्ते महिला र बालबालिकासमेत देखिने गरेकाले उनीहरूको गतिविधि निगरानी राख्न सुरक्षाकर्मीलाई उनले अनुरोध गरिन् ।
सो उद्घाटन कार्यक्रममा एमालेकी दुर्गा दाहाल, माओवादीका चुढामणि पोखरेल, केदार कोइरालाले शुभकामना दिएका थिए । उद्घाटन कार्यक्रमको समापन गर्दै उवासंघका अध्यक्ष विष्णु खड्काले दशैंपछि सटरवालासंग फेरि बसेर भाडामा पुनर्विचारका लागि अनुरोध गर्ने बताउँदै सुरुका दिनमा केही ब्यापारीहरूले बिरोध जनाए पनि अहिले सबैको समर्थन रहेको जानकारी दिए । उनले यो सस्तो बजारले बर्दिवास क्षेत्रको मात्र होइन छिमेकी जिल्लाका उपभोक्ता पनि आकर्षित हुने विश्वास ब्यक्त गरे ।
बजारमा निरन्तर अनुगमनको ब्यवस्था मिलाइएको जानकारी दिंदै अध्यक्ष खड्काले अहिले बर्दिवासमा धेरैजसो पसलमा दशैं छुटका अफरका ब्यानर देख्न सकिने बताए । सस्तो बजारमा खाद्य सामाग्रि मात्र होइन, दशैंमा आवश्यक सबै सामाग्रि सस्तोमा किन्न पाइने उनको कथन थियो । बजारमा लत्ता, कपडा, खसिबोकासमेत बिmक्रीका लागि राखिएको उनले सुनाए । तर, राखिएका सटरमा छुटका ब्यानर देखिए पनि मूल्य सूचि भने कसैले राखेका थिएनन् ।











