दाङ, जेठ ३१ । दाङमा चक्कु प्रहारबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मजुवाका २४ वर्षीय गोरखलाल खड्काको मृत्यु भएको छ ।
उनको शव बिहीबार घर ल्याएर दाहसंस्कार गरिएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ गोटीखोलाका २१ वर्षीय पदम केसीले बुधबार मध्यरातमा खड्कामाथि ढाडमा चक्कु प्रहार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर पोखरेलले जानकारी दिए ।
घाइते खड्कालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो।
तुलसीपुरमा उपचार सम्भव नभएपछि राति बाँकेको नर्सिङ कलेजमा रिफर गरिएको थियो । त्यहाँबाट उनलाई थप उपचारका लागि बुधबार बिहान भारतको लखनउ लगिएको थियो ।
उनको उपचारको क्रममा बुधबार साँझ ७ बजे लखनउमा मृत्यु भएको उनका आफन्तले बताएका छन् ।
पदमसँगै चक्कु प्रहारमा संलग्न १८ वर्षीय मक्लु वली पनि पक्राउ परेका छन् ।
मदिरा सेवन गरेको बेला उनीहरुबीच सामान्य कुरामा झगडा हुँदा घटना भएको प्रहरीको भनाई छ ।









