काठमाडौँ, पुस १५ गते ।
ललितपुरको बालकुमारीमा शुक्रबार भएको आन्दोलनका क्रममा पक्राउ परेका ७३ जनालाई प्रहरीले रिहा गरेको छ ।
कोरिया जान दिनुपर्ने र रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत भाषा परीक्षाको आवेदन भर्नुपर्ने माग गर्दै प्रदर्शनका क्रममा पक्राउ परेकालाई रिहा गरिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदर्शनका क्रममा थुनिएका सबैलाई रिहा गरिएको छ ।
उहाँले भन्नुभयो, ‘प्रदर्शनका क्रममा पक्राउ परेका सबैलाई रिहा गरिएको छ र उनीहरुलाई कारबाही नगर्ने निर्णय गरिएको छ । उनीहरुलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी र भौतिक सम्पति तोडफोड गरेको आरोपमा प्रहरीले पक्राउ गरी हिरासतमा लिएको हो ।
प्रदर्शनका क्रममा दैलेखको महाबु गाउँपालिका–६ का २३ वर्षीय सुजन रावत र अछामको चौरापाटी गाउँपालिका–१ का २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको हो । सरकारले ज्यान गुमाएका सुजन रावत र वीरेन्द्र शाहको परिवारलाई १०र१० लाख रुपैयाँ राहत दिने निर्णय पनि गरेको छ ।











