काठमाडौँ, पुस १० गते ।
देशकै कान्छो निकुञ्ज बाँके राष्ट्रिय निकुञ्ज १२ औं वर्षमा प्रवेश गर्दै पर्यटन प्रवद्र्धन अभियानमा जुटेको छ । सन् २०१० साउन १२ गते नेपालको दशौँ राष्ट्रिय निकुञ्जका रूपमा स्थापना भएको निकुञ्जमा पर्यटन प्रवद्र्धन गर्ने रणनीतिसहित काम थालिएको हो ।
निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत मनोजकुमार शाहका अनुसार यसै वर्ष नयाँ बाटो बनाएर निकुञ्ज परिसरलाई सजाउने योजना छ । उहाँले भन्नुभयो, ‘निकुञ्जमा बढीभन्दा बढी पर्यटक भित्र्याउने हाम्रो उद्देश्य हो । त्यसका लागि निकुञ्जमा नयाँ बाटो बनाउँदैछौँ ।” पर्यटन प्रवद्र्धनका लागि विस्तृत योजना तयार भइरहेको उल्लेख गर्दै वरिष्ठ संरक्षण अधिकृत शाहले छिट्टै कार्यान्वयनमा ल्याइने बताउनुभयो।
आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नट्टा)ले पार्कसँगको सहकार्यमा सोमबार बर्दिया र बाँकेका पर्यटकलाई लिएर जङ्गल सफारी आयोजना गरेको छ । नट्टाका संयोजक श्रीराम सिग्देलले सम्भावना र पूर्वाधार भए पनि प्रचारप्रसार हुन नसकेको बताउनुभयो ।
“निकञ्जका बारेमा तीनै तहका सरकारको ध्यान जान जरुरी छ । बाँकेमा निकुञ्जसँगै अन्य धेरै पर्यटकीय गन्तव्य छन्, ती सबैको विकासमा ध्यान दिन जरुरी छ, “उहाँले भन्नुभयो।
५५० वर्ग किलोमिटर क्षेत्रमा निकुञ्ज फैलिएको छ । यसको ३४३ वर्ग किमी केन्द्रीय क्षेत्र भित्र छ । पार्क भित्र, पूर्व(पश्चिम क्षेत्र ७२ किमी र कोहलपुर बबई रत्नराजमार्ग ३० किमी छ । बाघको बासस्थान र जैविक मार्गको संरक्षण गर्ने उद्देश्यले स्थापना भएको यो पार्क बर्दिया, दाङ र सल्यानसँग जोडिएको छ ।
सरकारले पार्कलाई एक सय पर्यटकीय गन्तव्यको सूचीमा राखेको छ । यहाँ बाघ, हात्ती, चितल, जरायो, लागुना, जङ्गली बँदेल, नीलगाय, चितुवा, भालु लगायतका प्राणी पाइन्छ । जैविक विविधताका हिसाबले यहाँ आठ प्रकारका पारिस्थितिक प्रणाली, १२४ प्रजातिका वनस्पति, ३४ प्रजातिका स्तनपायी, ३०० भन्दा बढी पक्षी, ५८ प्रजातिका माछा, २४ प्रजातिका सरीसृप र ६ प्रजातिका उभयचर जीव पाइन्छन् ।
निकुञ्जमा सलक, हुण्डर, जङ्गली हात्ती, पाटेबाग, कालो चील, राजधनेश, अजिङ्गार, सुनगोहोरो जस्ता संरक्षित वन्यजन्तु पनि छन् । यस क्षेत्रमा ११ प्रजातिका दुर्लभ र लोपोन्मुख स्तनपायीका साथै ५० प्रजातिका अन्तर्राष्ट्रिय दुर्लभ चराहरू रेकर्ड गरिएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार यस निकुञ्जमा संरक्षित सूचीमा रहेका सातवटा स्तनधारी जीव पाइन्छ ।
श्रोत रासस











