चितवन, पुस १० गते ।
अर्थमन्त्री डा प्रकाशरण महतले अर्थतन्त्रमा सुधार भइरहेको बताउनुभएको छ । आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले अर्थतन्त्रका परिसूचक सकारात्मक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालको भविष्य छैन, यहाँ लगानी छैन भन्ने नकारात्मक प्रचारको अन्त्य भएको छ, अब लगानीको वातावरण बनेको छ । उहाँले भन्नुभयो, ‘यहाँ केही गर्नै हुँदैन भन्ने प्रचार भइरहेको छ, तर यथार्थमा त्यस्तो छैन, तथ्यांकले देखाउँछ । लगानीको वातावरण बिथोल्ने प्रयास भए पनि अर्थतन्त्र सहज अवस्थामा आएको उहाँले बताउनुभयो ।
अर्थमन्त्रीले भन्नुभयो, ‘लगानीकर्ताको आत्मविश्वास बढेको छ, योजनाबद्ध प्रचार–प्रसारको नियत सबैले बुझेका छन्, लगानी गर्दा पहिचान र लगानी गर्नुपर्छ भन्ने सन्देश लिएर अघि बढ्ने हो भने भविष्य सुन्दर छ । उहाँले ढुक्क भएर लगानी गर्न आग्रह गर्दै प्रतिफल पाउने उद्योगमा खर्च गर्ने सरकारको नीति रहेको स्पष्ट गर्नुभयो ।
सेयर बजार विस्तारै उकालो लाग्दै गएको भन्दै अर्थमन्त्रीले बताउनुभयो, ‘घरजग्गा कारोबारमा सुधार आएको छ, पर्यटकको उल्लेख्य संख्या आएको छ, पूर्वाधारमा केन्द्रित भएर लगानी गरे मनग्गे नाफा आर्जन हुन्छ । उहाँले अपार सम्भावना रहेको पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । विदेशी मुद्रा सञ्चिति सन्तुलित र रेमिट्यान्स पनि सकारात्मक रहेकाले अर्थतन्त्रमा सुधार भइरहेको उहाँले दोहोर्याउनुभयो।
उहाँले राष्ट्र बैंकको पछिल्लो निर्णयले समस्यामा परेका व्यवसायीलाई सम्बोधन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नीतिगत ब्याजदर घटेको छ, त्यसको असर बैंकमा देखिन थालेको छ । सरकारले राम्रो नियतले काम गर्नेलाई साथ दिइरहेको छ । ‘बैंकको ऋण तिर्दैन भनेर कसैले भन्न मिल्दैन, भ्रामक स्वार्थले गरेको प्रचारको प्रतिकार गर्नुपर्छ’, अर्थमन्त्रीले भन्नुभयो ।
श्रोत रासस











