मोरङ (रासस), मङ्सिर २५ गते।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एक महिनाभित्र शैलजा आचार्य मुटुरोग उपचार केन्द्र सञ्चालन गर्न निर्देशन दिनुभएको छ ।
स्वास्थ्यमन्त्रीको जिम्मेवारी समेत सम्हालेका मुख्यमन्त्री कार्कीले आज मन्त्रालयका कर्मचारीसँगको छलफलमा विराटनगर–१० स्थित केन्द्र अबको एक महिनाभित्र सञ्चालनमा ल्याई ढिलाइ नगरी काम थाल्नुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले स्वास्थ्य केन्द्र र मन्त्रालयको काम नागरिकको जीवनसँग जोडिएको भएकाले स्वास्थ्य सुरक्षामा कर्मचारी विशेष संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो । ‘मन्त्रालय मातहतमा नयाँ छानबिन गर्नुपर्ने देखिए नागरिकप्रति जिम्मेवार ढंगले हुनुपर्छ’, उहाँले भन्नुभयो, ‘दुर्गम र ग्रामीण क्षेत्रमा सेवा प्रभावकारीतामा कमी आउनु हुँदैन ।
मुख्यमन्त्री कार्कीले बजेट अभावमा सर्वसाधारणको ज्यान जान नदिन सबैले काम गर्नुपर्नेमा जोड दिनुभयो । छलफलका क्रममा उहाँले आगामी १५ दिनभित्र ओखलढुंगाका साथै अर्को अस्पतालमा विशेषज्ञसहितको उपचार सेवा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउन कर्मचारीलाई निर्देशन दिनुभयो ।
मन्त्रालयकी सचिव डा.सुधा देवकोटाले मन्त्रालयअन्तर्गतका कार्यालयमा समन्वयको अभाव रहेकाले सोको व्यवस्था गर्न मुख्यमन्त्री समक्ष आग्रह गर्नुभयो । मन्त्रालयअन्तर्गतका प्रदेश आपूर्ति व्यवस्था, स्वास्थ्य कार्यालय, प्रदेश प्रयोगशालालगायत कार्यालयका प्रमुख एवं कर्मचारीले आ–आफ्नो कार्यालयले प्रदान गर्ने सेवाका विषयमा मुख्यमन्त्री कार्कीलाई जानकारी गराएका थिए ।











