यतिबेला कतारमा विश्वकप फुटबल-२०२२ आयोजना भइरहेको छ । समूह चरणको अन्तिम खेल सुरु भइसकेका छन् विश्वकपको रौनक हेर्नका लागि संसारभरबाट दर्शक कतार पुगेका छन् ।तर यसैबीच विश्वकप आयोजनाका लागि पूर्वाधार निर्माणमा श्रमिकको शोषण गरेको र तयारीका क्रममा मृत्यु भएका श्रमिकका परिवारलाई क्षतिपूर्ति नदिएको भन्दै कतारी सरकारको कडा आलोचना पनि हुँदै आएको छ ।
गार्डियनले सन् २०२१ मा प्रकाशित गरेको खोजमूलक रिपोर्टमा भने नेपालसहित ५ मुलुकका ६ हजार ५ सयभन्दा बढी श्रमिकको मृत्यु भएको दाबी गरिएको छ ।
कतारमा विश्वकप फुटबलका लागि पूर्वाधार बनाउने क्रममा मृत्यु भएका, गम्भीर चोटपटक लागेका र ज्यालाबाट वञ्चित भएका श्रमिक र परिवारलाई क्षतिपूर्ति दिन अन्तर्राष्ट्रिय मानव अधिकारकर्मीले फिफा र कतारमाथि दबाब दिइरहेका छन् । यसैबीच विश्वकप आयोजनासम्बन्धी उच्च समितिका महासचिव हसन अल थवादीले पूर्वाधार निर्माण वा आयोजना तयारीका क्रममा ४ सयदेखि ५ सय श्रमिकको मृत्यु भएको स्वीकार गरेका छन् ।
‘पियर्स मोगर्न अनसेन्सर्ड’ टेलिभिजन सोमा अन्तर्वार्ताका क्रममा थवादीले भनेका छन्, ‘अनुमान त्यस्तै ४ सयजति हो । ४ सयदेखि ५ सयकै बीचमा होला । मसँग ठ्याक्कै संख्या त छैन ।’ उनले त्यसमध्ये पनि काम गर्ने क्रममा ३ जनाको मृत्यु भएको ३७ जनाको अन्य अवस्थामा मृत्यु भएको बताएका छन् । उनले आप्रवासी कामदारको मृत्युबारे कतार सरकार पारदर्शी भएको दाबी समेत गरेका छन् । ‘एउटै मृत्यु पनि दु:खको कुरा हो । हामीले हरेक वर्ष कार्यक्षेत्रको अवस्थामा सुधार गर्दै लगेका थियौँ । कम्तीमा विश्वकप आयोजनास्थलचाहिँ सुधार गरेका थियौँ ।’
कतारको विश्वकप आयोजनासम्बन्धी उच्च समितिले सन् २०१४ मा रंगशाला निर्माण सुरु भएयता मात्र ३ जनाको कामको सिलसिलामा मृत्यु भएको दाबी गरेको छ । तर गार्डियनले सन् २०२१ मा प्रकाशित गरेको खोजमूलक रिपोर्टमा भने नेपालसहित ५ मुलुकका ६ हजार ५ सयभन्दा बढी श्रमिकको मृत्यु भएको दाबी गरिएको छ । कतारले सन् २०१० मा विश्वकप आयोजनाको अधिकार पाएको थियो । गार्डियनले सन् २०११ देखि पूर्वाधार निर्माण सुरु गरेको थियो ।
गार्डियनका अनुसार सन् २०११ देखि २०२० सम्म १ हजार ६ सय ४१ नेपाली श्रमिकको मृत्यु भएको छ । तर यो तथ्यांकबारे नेपाल सरकारले आधिकारिक रूपमा भने केही जानकारी गराएको छैन । त्यस्तै सबैभन्दा बढी २ हजार ७ सय ११ भारतीय श्रमिकको मृत्यु भएको छ । त्यस्तैगरी बांग्लादेशका १ हजार १८, पाकिस्तानका ८ सय २४ र श्रीलंकाका ५ सय ५७ श्रमिकको मृत्यु भएको गार्डियनको दाबी छ ।











