सर्लाही । सर्लाहीको गोडैता नगरपालिका-८ स्थित एक घरबाट चोरी भएका सुन तथा चाँदीका गरगहनासहित प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार २०८३ असोज १३ गते गोडैता नगरपालिका–८ का नरेश मिश्राको दुईतले पक्की घरको माथिल्लो तलाको सिसाको झ्याल खुला रहेको अवस्थामा घरभित्र प्रवेश गरी दराज तथा सुटकेसमा राखिएका करिब ५ लाख ८७ हजार २०० रुपैयाँ बराबरका सुन तथा चाँदीका विभिन्न गरगहना चोरी भएको थियो।
घटनाको जानकारी प्राप्त भएपछि प्रहरी चौकी गोडैताबाट खटिएको टोलीले चोरीमा संलग्न व्यक्तिहरूको खोजी थालेको थियो। अनुसन्धानका क्रममा असोज १८ गते चोरीमा संलग्न रहेको आरोपमा गोडैता नगरपालिका क्षेत्रका तीन जना बालक तथा चोरीका सामान खरिद गर्ने एक जना गरी चार जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट चोरी भएका भनिएका विभिन्न गरगहनासमेत बरामद गरेको छ।
बरामद सामान :-
- चाँदीजस्तो देखिने पायल – २ थान
- सुनजस्तो देखिने जितिया – ४ थान
- सुनजस्तो देखिने औँठी – १ थान
- चाँदीजस्तो देखिने ठेसा – २ थान
- लक्ष्मीको तस्वीर भएको चाँदीजस्तो देखिने सिक्का – १ थान
- चाँदीजस्तो देखिने हनुमानी – १ थान
- पहेँलो रङको सुनजस्तो देखिने महिलाको औँठी – १ थान
पक्राउ परेकाविरुद्ध चोरीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।











