बर्दिबास उद्योग वाणिज्य संघको पहलमा प्रधानमन्त्री राहत कोषमा ९ लाख रुपैयाँ सहयोग


बर्दिबास । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित तथा पीडित परिवारको सहयोगका लागि बर्दिबास उद्योग वाणिज्य संघको पहलमा करिब ९ लाख रुपैयाँ आर्थिक सहयोग जुटाइएको छ।

संघका प्रथम उपाध्यक्ष रञ्जितराज ढुंगानाका अनुसार बर्दिबासका व्यवसायी तथा विभिन्न सहयोगी हातबाट संकलित करिब ९ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा क्युआरमार्फत जम्मा गरिएको हो। भदौ १३ गते शनिबार बर्दिबास बजार क्षेत्रमा घरदैलो कार्यक्रम सञ्चालन गरी संकलन गरिएको रकम प्रधानमन्त्री कार्यालयको आधिकारिक क्युआरमार्फत राहत कोषमा जम्मा गरिएको संघले जनाएको छ।

राहत संकलन अभियानका क्रममा आर्थिक सहयोगसँगै खाद्यान्न, लत्ताकपडा, चप्पललगायतका करिब ४ देखि ५ लाख रुपैयाँ बराबरका राहत सामग्रीसमेत संकलन भएको संघले जनाएको छ। बाढीपीडितलाई तत्काल आवश्यक पर्ने सामग्री संकलन गरिएकाले अभियानमा स्थानीय व्यवसायी तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको संघको भनाइ छ।

संघले सार्वजनिक गरेको विवरणअनुसार जयराम इन्टरप्राइजेजले २ लाख ५१ हजार रुपैयाँ, शुभस्वस्तिक अस्पतालका सञ्चालक तथा संघका अध्यक्ष दीपकबहादुर कार्कीले १ लाख ५५ हजार ५०० रुपैयाँ, राम आइरन स्टोर्सका सञ्चालक तथा संघका उपाध्यक्ष रामनाथ साहले ५५ हजार ५०० रुपैयाँ र एभरेस्ट डेरीका सञ्चालक तथा संघका कोषाध्यक्ष सुरेन्द्रराज लामाले ५५ हजार ५०० रुपैयाँ सहयोग गरेका छन्।

संघले बाढीपीडितको राहतका लागि विश्वभर रहेका सहयोगी हातलाई समेत प्रधानमन्त्री राहत कोषमा क्युआरमार्फत सहयोग गर्न आग्रह गरेको छ। आफूहरूले संकलन गरेको रकम सिधै प्रधानमन्त्री कार्यालयको आधिकारिक क्युआरमा जम्मा गरेको स्पष्ट पार्दै संघले राहत अभियानलाई थप प्रभावकारी बनाउन सबैलाई सहयोगका लागि आह्वान गरेको हो।

बर्दिबास क्षेत्रबाट यसअघि पनि विभिन्न व्यक्ति, व्यवसायी तथा संघसंस्थाले आर्थिक सहयोग तथा राहत सामग्री उपलब्ध गराउँदै आएका छन्। राहत तथा आर्थिक सहयोग संकलन अभियान अझै जारी रहेको र आगामी दिनमा समेत संकलन कार्यलाई निरन्तरता दिइने संघले जनाएको छ।

संकलन अभियान सम्पन्न भएपछि बर्दिबास क्षेत्रबाट प्राप्त सम्पूर्ण आर्थिक सहयोग तथा राहत सामग्रीको विवरण पारदर्शी रूपमा सार्वजनिक गर्ने प्रतिबद्धता संघले जनाएको छ।

भोटेकोशी बाढीबाट प्रभावित परिवारको पीडामा साथ दिँदै सहयोग र ऐक्यबद्धता जनाउने व्यवसायी तथा स्थानीयवासीप्रति संघले धन्यवाद व्यक्त गरेको छ। साथै, आगामी दिनमा पनि राहत अभियानमा निरन्तर सहयोग गर्न संघले सबैमा आग्रह गरेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको