मधेसको पर्यटन प्रवर्द्धनका लागि महासंघद्वारा मन्त्रीसमक्ष ध्यानाकर्षण


बर्दिबास । मधेस प्रदेशको पर्यटन विकास र प्रवर्द्धनका लागि नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ, मधेस प्रदेशले संघीय सरकारको ध्यानाकर्षण गराएको छ।

महासंघको आयोजनामा मधेस प्रदेशको पर्यटन विकास तथा प्रवर्द्धनसम्बन्धी विशेष छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल, मन्त्रीका स्वकीय सचिव, पर्यटन सचिव, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका प्रमुख, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सल्लाहकार तथा सम्बन्धित क्षेत्रका विज्ञ कर्मचारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा मधेस प्रदेशको पर्यटन क्षेत्रको वर्तमान अवस्था, सम्भावना, चुनौती तथा पर्यटन विकासका लागि संघीय सरकारले अवलम्बन गर्नुपर्ने नीति र योजनाबारे छलफल गरिएको थियो। महासंघले मधेसको पर्यटनलाई आगामी सरकारी नीति तथा कार्यक्रममा विशेष प्राथमिकता दिन आग्रह गरेको छ।

महासंघका अध्यक्ष हिरालाल गौतमको नेतृत्वमा प्रस्तुत गरिएको धारणा तथा ध्यानाकर्षणमा मधेस प्रदेश धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक पर्यटनको ठूलो सम्भावना बोकेको प्रदेश भए पनि पर्याप्त प्रचारप्रसार, पूर्वाधारको कमी र प्रभावकारी पर्यटन नीतिको अभावमा अपेक्षित लाभ लिन नसकेको उल्लेख गरिएको छ।

महासंघले मधेसका आठै जिल्लामा रहेका सम्भावित पर्यटकीय गन्तव्यको पहिचान, होटल तथा पर्यटन व्यवसायको तथ्यांक संकलन, खाद्य स्वच्छता अभियान, पर्यटकीय गन्तव्यको भिडियो सामग्री निर्माण तथा प्रचारप्रसार, अन्तरप्रदेशीय छलफल र ‘घुमौँ मधेस, बुझौँ मधेस’ अभियानमार्फत पर्यटन प्रवर्द्धनका गतिविधि सञ्चालन गर्दै आएको जानकारी गराएको छ।

मधेसका प्रमुख पर्यटकीय गन्तव्यका रूपमा जानकी मन्दिर, गढीमाई मन्दिर, छिन्नमस्ता भगवती, जलेश्वरनाथ, धनुषाधाम, सिम्रौनगढ, सलहेस फूलबारी, पर्सा राष्ट्रिय निकुञ्ज, ठोरी, भरत ताल तथा टुटेश्वरनाथ महादेव मन्दिरलगायतका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक स्थललाई व्यवस्थित रूपमा विकास र प्रचारप्रसार गर्नुपर्नेमा जोड दिइएको छ।

महासंघले संघीय सरकारसमक्ष ‘मधेस पर्यटन सर्किट’ अवधारणालाई राष्ट्रिय पर्यटन नीति तथा कार्यक्रममा समावेश गर्न माग गरेको छ। त्यस्तै, नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा मधेसका पर्यटकीय गन्तव्यको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार, होटल तथा पर्यटन व्यवसायलाई उद्योगको मान्यता, पर्यटन क्षेत्रमा कार्यरत जनशक्तिका लागि आवश्यक तालिम तथा सीप विकासको व्यवस्था गर्न आग्रह गरिएको छ।

त्यसैगरी, मधेस पर्यटन बोर्ड गठन, पर्यटकमैत्री नीतिनियम निर्माण, मिथिला कला संग्रहालय स्थापना, पर्यटकीय स्थलको सौन्दर्यीकरण, भारतबाट आउने पर्यटकका लागि सीमा नाकामा सहजीकरण तथा क्रस–बोर्डर टुरिज्म प्रवर्द्धन गर्नसमेत महासंघले सरकारको ध्यानाकर्षण गराएको छ।

निजी क्षेत्रसँगको सहकार्यमा प्रत्येक वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका पर्यटन महोत्सव आयोजना गर्ने वातावरण निर्माण गर्न पनि महासंघले आग्रह गरेको छ।

कार्यक्रममा पर्यटन पूर्वाधार विकास, पर्यटकीय गन्तव्यसम्म सहज पहुँच, आवश्यक जनशक्ति व्यवस्थापन, कार्यरत जनशक्तिको क्षमता अभिवृद्धि तथा मधेसका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय पर्यटनको मूल प्रवाहमा जोड्ने विषयमा समेत सुझाव प्रस्तुत गरिएको थियो।

महासंघका अध्यक्ष हिरालाल गौतमले होटल तथा पर्यटन व्यवसायीहरू सरकारसँग माग राख्ने मात्र नभई पर्यटन विकासका लागि आवश्यक सहयोग र सहकार्य गर्न सदैव तयार रहेको बताउनुभयो। उहाँले मधेस प्रदेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्न सरकार, निजी क्षेत्र र सम्बन्धित सरोकारवालाबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।

सो अवसरमा महासंघका तर्फबाट मधेस प्रदेशको पर्यटन विकाससँग सम्बन्धित विभिन्न विषय समेटिएको ध्यानाकर्षण पत्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसमक्ष पेश गरिएको थियो।

महासंघले ‘घुमौँ मधेस, बुझौँ मधेस’ अभियानलाई थप प्रभावकारी बनाउँदै मधेसको पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने प्रतिबद्धता समेत जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको