सीमा निरीक्षणमा गृहमन्त्री गुरुङ, मटिहानीमा धार्मिक सद्भावको सन्देश


महोत्तरी। गृहमन्त्री सुदन गुरुङले आइतबार महोत्तरीको मटिहानी-मधवापुर नेपाल-भारत सीमा क्षेत्रको स्थलगत निरीक्षण गर्दै सीमा सुरक्षा, व्यवस्थापन तथा सीमावर्ती गतिविधिबारे जानकारी लिनुभएको छ।

मटिहानी नगरपालिका पुगेका गृहमन्त्री गुरुङले सीमास्तम्भहरूको निरीक्षण गर्नुका साथै सीमा सुरक्षामा खटिएका सुरक्षा निकायका अधिकारीहरूसँग अवैध गतिविधि नियन्त्रण, सीमा व्यवस्थापन र सुरक्षा चुनौतीबारे छलफल गर्नुभएको हो।

उहाँले मटिहानीस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) मा पुगेर सुरक्षा अवस्थाबारे ब्रिफिङ लिनुका साथै सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक समन्वय र उच्च सतर्कता अपनाउन निर्देशन दिनुभएको छ।

पछिल्लो समय मधेसका विभिन्न जिल्लामा दुई समुदायबीच देखिएको तनावका बीच गृहमन्त्री गुरुङले धार्मिक सद्भावको सन्देश दिँदै मटिहानीस्थित ऐतिहासिक लक्ष्मीनारायण मठमा पूजा-अर्चना गर्नुका साथै मुस्लिम समुदायको आस्थाको केन्द्र पीरबाबाको मजारमा चादर चढाउनुभएको थियो।

गृहमन्त्रीलाई मटिहानीमा नगरप्रमुख हरिप्रसाद मण्डल, महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलगायतले स्वागत गरेका थिए।

त्यसपछि उहाँ जलेश्वरस्थित प्रसिद्ध जलेश्वरनाथ महादेव मन्दिर पुगेर दर्शन तथा पूजा-अर्चनामा सहभागी हुनुभएको थियो। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार गृहमन्त्रीले सुरक्षा निकायको टोलीसँगै मन्दिरको अवलोकन तथा पूजा गर्नुभएको हो।

सीमावर्ती क्षेत्रको निरीक्षण र धार्मिकस्थलको भ्रमणका क्रममा गृहमन्त्री गुरुङले सञ्चारकर्मीसँग कुनै सार्वजनिक प्रतिक्रिया दिनुभएको छैन।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको