सिरहामा गोली लागेर ज्यान गुमाएका गणेश यादवको घरमा गृहमन्त्री अझै पुगेनन्
सिरहा । सिरहाको गोलबजारमा बिहीबार गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवको घरमा गृहमन्त्री सुधन गुरुङ शुक्रबार राति अबेरसम्म पनि पुगेका छैनन्।
औरही गाउँपालिका-२ तुलसियाहीस्थित मृतक गणेशको घरमा गृहमन्त्री आउने जानकारी दिउँसो करिब २ बजे परिवारलाई गराइएको थियो। त्यसयता परिवार, आफन्त तथा स्थानीयवासी उनको प्रतीक्षामा बसेका छन्।
मृतकको घर आसपास दिउँसोदेखि नै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
गृहमन्त्री गुरुङ सिरहा पुगेको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक भए पनि राति करिब सवा ९ बजेसम्म उनी मृतकको घरमा नपुगेको स्थानीय स्रोतले जनाएको छ।
बिहीबार गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर गम्भीर घाइते भएका गणेश यादवको उपचारका क्रममा मृत्यु भएको थियो। उक्त घटनापछि सिरहासहित आसपासका क्षेत्रमा तनाव उत्पन्न भएको छ।