जनकपुरधाम । धनुषाको सबैला नगरपालिका-१२ रघुनाथपुरस्थित शिव-हनुमान मन्दिरका सहायक पुजारीको गएराति घाँटी रेटेर हत्या गरिएको छ।
मृतक हंसपुर नगरपालिका-३ मलहनिया निवासी अन्दाजी ४५ वर्षीय बन्ठु राउत रहेको खुलेको छ। उनी करिब १५ वर्षदेखि उक्त मन्दिरमा सहायक पुजारीका रूपमा बस्दै आएका थिए। स्थानीयका अनुसार उनी बेला-बेलामा भारतमा रोजगारीका लागि जाने र पुनः मन्दिरमै फर्केर बस्ने गरेका थिए।
स्थानीयका अनुसार राउत राति मन्दिरमै सुतिरहेका बेला अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी उनको घाँटी रेटेर हत्या गरेको हो।
घटनास्थल पुगेका सबैला नगरपालिकाका प्रमुख कारीराम यादवले मन्दिरभित्र रगतै-रगत भएको तथा मृतकले बच्नका लागि संघर्ष गरेको देखिने अवस्था रहेको बताए। उनका अनुसार मन्दिरभरि रगतका छिटा देखिएकाले घटनाको प्रकृति निकै क्रूर रहेको अनुमान गरिएको छ।
स्थानीयवासीका अनुसार मृतक केही दिनअघि भारतबाट फर्किएका थिए। उनीसँग रहेको रकम लुट्ने उद्देश्यले हत्या गरिएको हुन सक्ने आशंका स्थानीयले गरेका छन्। यद्यपि प्रहरीले यस विषयमा आधिकारिक पुष्टि गरेको छैन।
घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय धनुषा तथा मातहतका प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेका छन्। शव घटनास्थलमै राखिएको छ भने आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाइने प्रहरीले जनाएको छ।
प्रहरीले हत्या पछाडिको कारण र घटनामा संलग्न व्यक्तिको पहिचानका लागि अनुसन्धान अघि बढाएको छ।









