निजी क्षेत्रका कर्मचारीलाई सञ्चयकोषमा आबद्ध गराउन महोत्तरीका होटल व्यवसायी सक्रिय


बर्दीबास,महोत्तरी । निजी क्षेत्रमा कार्यरत कर्मचारीलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने उद्देश्यले महोत्तरीका होटल व्यवसायी सक्रिय भएका छन्। होटल तथा पर्यटन व्यवसायी सङ्घ, महोत्तरीको आयोजनामा बर्दीबासस्थित गुञ्ज होटलमा आयोजित विशेष कार्यक्रममा निजी क्षेत्रका कर्मचारीलाई कर्मचारी सञ्चयकोषमा आबद्ध गराउने विषयमा बृहत् छलफल गरिएको हो।

सङ्घका जिल्ला अध्यक्ष गुञ्जबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ, मधेस प्रदेशका अध्यक्ष हिरालाल गौतमको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा कर्मचारी सञ्चयकोष, मधेस प्रदेश कार्यालयका प्रमुख अर्जुन निरौलाले सञ्चयकोषका सुविधा, लाभ तथा कानुनी व्यवस्थाबारे जानकारी गराउनुभयो।

मुख्य वक्ता निरौलाले निजी क्षेत्रका कर्मचारी सञ्चयकोषमा आबद्ध भएमा सरकारी कर्मचारीसरह विभिन्न सेवा-सुविधा प्राप्त गर्न सक्ने बताउनुभयो। उहाँका अनुसार सामाजिक सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले सञ्चालन गरिएको यस योजनामा आबद्ध भएपछि कर्मचारीले सहुलियत ब्याजदरमा घर निर्माण, जग्गा खरिद, घर मर्मत तथा उच्च शिक्षाका लागि ऋण सुविधा लिन सक्नेछन्। साथै, सञ्चयकोषमा जम्मा भएको रकमको ९५ प्रतिशतसम्म विशेष सापटीका रूपमा झिक्न सकिने व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो।

उहाँले सञ्चयकर्ताले प्राप्त गर्ने अन्य कल्याणकारी सुविधाबारे पनि जानकारी दिँदै सामान्य रोगका कारण अस्पताल भर्ना हुनुपरेमा वर्षमा एक पटक एक लाख रुपैयाँसम्म उपचार खर्च शोधभर्ना हुने र घातक रोग लागेमा अधिकतम १० लाख रुपैयाँसम्म उपचार खर्च उपलब्ध हुने व्यवस्था रहेको बताउनुभयो।

त्यस्तै, दुर्घटनामा परी मृत्यु भएमा हकवालाले दुई लाख रुपैयाँ राहत तथा काजकिरिया खर्चबापत ४० हजार रुपैयाँ प्राप्त गर्ने व्यवस्था रहेको उहाँले उल्लेख गर्नुभयो। दुई पटकसम्म सन्तान जन्मिँदा प्रत्येक पटक सात हजार पाँच सय रुपैयाँ सुत्केरी भेट उपलब्ध गराइने व्यवस्था पनि रहेको उहाँको भनाइ थियो।

निरौलाका अनुसार आफ्ना कर्मचारीलाई सञ्चयकोषमा आबद्ध गराउने रोजगारदाता संस्थाले व्यवसाय विस्तार वा पूर्वाधार विकासका लागि आवश्यक परेमा कोषबाट सहुलियत ब्याजदरमा १० करोड रुपैयाँभन्दा बढीको संस्थागत ऋणसमेत प्राप्त गर्न सक्नेछन्।

कार्यक्रममा बोल्दै नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ, मधेस प्रदेशका अध्यक्ष हिरालाल गौतमले आफ्नो मातहतका होटल तथा रिसोर्टमा कार्यरत सबै कर्मचारीलाई सञ्चयकोषमा आबद्ध गराउन आग्रह गर्नुभयो। यस व्यवस्थाले रोजगारदाता र कर्मचारीबीचको सम्बन्ध अझ सुदृढ हुने तथा श्रम बजारलाई सुरक्षित र व्यवस्थित बनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो।

कार्यक्रममा बर्दीबास क्षेत्रका अधिकांश होटल व्यवसायीको उत्साहजनक सहभागिता रहेको थियो। समापनका क्रममा सङ्घका जिल्ला अध्यक्ष गुञ्जबहादुर कार्कीले कर्मचारीको सामाजिक सुरक्षा सुनिश्चित गर्न कर्मचारी सञ्चयकोषसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सहभागी सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो।

कार्यक्रममा कर्मचारी सञ्चयकोषका सहायक प्रबन्धक रामकृष्ण नन्दन सिंह र सन्तोष कुमार साहको पनि उपस्थिति रहेको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको