जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ स्थित खतबैया टोलमा विवाह समारोहका क्रममा बिहेको रथको ब्रेक फेल हुँदा भएको दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार स्थानीय केश्वर मुखियाकी छोरीको विवाहका अवसरमा बुधबार राति मटकोर विधि सञ्चालन भइरहेका बेला द्यच् ३२ ग ७४६८ नम्बरको बिहेको रथको ब्रेक अचानक फेल भएको थियो। अनियन्त्रित बनेको रथ नाचिरहेका स्थानीयको भीडमा पसेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा स्थानीय संजय मुखियाकी १३ वर्षीया छोरी सरस्वती मुखिया र बिकाउ मुखियाकी ३५ वर्षीया श्रीमती कवितादेवी मुखिया रथले किचिएका थिए। दुवैलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको थियो।
उपचारकै क्रममा १३ वर्षीया सरस्वती मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० मधुसुदन न्यौपानेले जानकारी दिए।
गम्भीर घाइते कवितादेवी मुखियाको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेकोले थप उपचारका लागि न्युरो अस्पताल जनकपुरधाम रेफर गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरीले बिहेको रथ नियन्त्रणमा लिएको छ। चालक भने फरार रहेकाले उनको खोजी गर्नुका साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









