छिमेकीको हत्या गरी आफ्नै बुबा र भिनाजुलाई फसाउन खोज्ने युवक पक्राउ


सर्लाही । आफ्नै छिमेकीको हत्या गरी आफ्नै बुबा र भिनाजुलाई फसाउने योजना बनाएको आरोपमा सर्लाही प्रहरीले २५ वर्षीय सन्तोषकुमार रायलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीले बिहीबार पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेको हो। प्रहरीले रायमाथि ५३ वर्षीय छिमेकी होसनारायण राय यादवको धारिलो हतियार ९हँसिया० प्रहार गरी हत्या गरेको आरोप लगाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उनले आफ्नै बुबा र भिनाजुलाई फसाउने उद्देश्यले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ९एसपी० रवीन्द्रनाथ पौडेलका अनुसार प्रारम्भिक सोधपुछमा रायले मोबाइल खरिदका लागि पैसा माग्दा बुबासँग विवाद भएको र परिवारका सदस्यले पटक–पटक सुधार केन्द्र पठाउने धम्की दिने गरेकाले उनीहरूप्रति रिस बढ्दै गएको बताएका छन्।

गत असार ७ गते राति भैंसी गोठमा सुतिरहेका होसनारायण राय यादवमाथि हँसियाले आक्रमण हुँदा उनको घाँटीमा गम्भीर चोट लागेको थियो। उपचारका लागि अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनापछि फरार रहेका रायलाई असार १६ गते बरहथवा नगरपालिका–७ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा घटनास्थल आसपासका सीसीटीभी फुटेजका आधारमा उनीमाथि शंका केन्द्रित भएको थियो।

प्रहरीका अनुसार घटनामा प्रयोग गरिएको चोरीको मोटरसाइकल असार ८ गते लालबन्दी नगरपालिका–२, नवलपुर क्षेत्रमा बेवारिसे अवस्थामा फेला परेको थियो। उक्त मोटरसाइकल छिमेकी हरिन्द्रराम यादवको रहेको र अभियुक्तले चोरी गरी घटनामा प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीले रायविरुद्ध कर्तव्य ज्यान तथा चोरी मुद्दा दर्ता गरी सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको