इँनार खन्ने क्रममा युवकको ज्यान गयो, वडा अध्यक्षसहित पाँच जनाविरुद्ध जाहेरी


२३ जेठ, महोत्तरी।  महोत्तरीको गौशाला नगरपालिका–१२ पररियामा निर्माणाधीन इँनारमा काम गर्ने क्रममा निसास्सिएर एक युवकको मृत्यु भएपछि वडा अध्यक्षसहित पाँच जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दामा जाहेरी दर्ता भएको छ।

सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ निवासी चन्द्रप्रकाश महतोले आफ्ना २१ वर्षीय छोरा बसन्त कुमार कुशवाहाको मृत्यु लापरवाहीका कारण भएको दाबी गर्दै इलाका प्रहरी कार्यालय गौशालामा जाहेरी दिएका हुन्।

जाहेरी अनुसार निर्माणाधीन इँनारभित्र रुखको जरा काट्ने क्रममा प्रयोग गरिएको मेसिनबाट निस्किएको धुवाँका कारण बसन्त निसास्सिएर बेहोस भएका थिए। उनलाई तत्काल उपचारका लागि अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

पीडित परिवारले गौशाला नगरपालिका–१२ का वडा अध्यक्ष कुशेश्वर सिंह कुशवाहासहित पाँच जनाविरुद्ध जाहेरी दर्ता गराउँदै इँनारभित्रको जोखिमबारे जानकारी हुँदाहुँदै पर्याप्त सुरक्षा व्यवस्था नगरी काममा लगाइएको तथा गम्भीर लापरवाहीका कारण मृत्यु भएको आरोप लगाएको छ।

इलाका प्रहरी कार्यालय गौशालाले जाहेरी दर्ता गरी घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ। प्रहरीका अनुसार पोस्टमार्टम प्रतिवेदन, घटनास्थल मुचुल्का, प्रत्यक्षदर्शीको बयान तथा अन्य प्रमाणका आधारमा थप अनुसन्धान अगाडि बढाइनेछ।

यता घटनामा लागेको आरोपबारे प्रतिक्रिया लिन वडा अध्यक्ष कुशेश्वर सिंह कुशवाहासँग सम्पर्क गर्ने प्रयास गरिए पनि उनको फोन सम्पर्क हुन सकेन। समाचार तयार पार्दासम्म उनको आधिकारिक धारणा प्राप्त भएको छैन।

उक्त घटनाले स्थानीय तहबाट सञ्चालित वा समन्वय गरिएका निर्माण कार्यमा श्रमिक सुरक्षाको विषयलाई पुनः चर्चामा ल्याएको छ। पीडित परिवारले दोषीमाथि कानुनी कारबाही तथा पीडित परिवारलाई न्याय दिलाउन माग गरेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको