काठमाडौं। विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका मधेश प्रदेशका प्रदेशसभा सदस्य सरोजकुमार सिंह कुशवाहालाई ४ वर्ष १ महिना कैद सजाय सुनाएको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको संयुक्त इजलासले गत जेठ ४ गते सिंहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसूरमा दोषी ठहर गरेको थियो। सोही मुद्दामा अदालतले बुधबार सजाय निर्धारण गर्दै उनलाई ४ वर्ष १ महिना कैद र ३८ लाख ५० हजार १ सय ३९ रुपैयाँ जरिवाना गर्ने फैसला गरेको हो।
अदालतका अनुसार सिंहले विभिन्न उपभोक्ता समितिहरूबाट घुस तथा कमिसनबापत ३८ लाख ५० हजार १ सय ३९ रुपैयाँ प्राप्त गरेको पुष्टि भएको छ। उक्त रकमलाई नै भ्रष्टाचारको विगो मानी सजाय निर्धारण गरिएको अदालतले जनाएको छ।
फैसलाअनुसार घटनाको समयमा सिंह महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य थिए। सार्वजनिक पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको ठहर गर्दै अदालतले भ्रष्टाचार निवारण ऐनको दफा २४ बमोजिम थप १ महिना कैद सजायसमेत सुनाएको छ।
विशेष अदालतले घुसस्वरूप प्राप्त ३८ लाख ५० हजार १ सय ३९ रुपैयाँ जफत गरी असुलउपर गर्न आदेश दिएको छ। साथै अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम १ लाख ५४ हजार ५ रुपैयाँ ५६ पैसा क्षतिपूर्ति शुल्क असुल गरी पीडित राहत कोषमा जम्मा गर्न पनि आदेश दिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहविरुद्ध विभिन्न उपभोक्ता समितिहरूबाट घुस तथा कमिसन लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अदालतले आरोप पुष्टि भएपछि उनलाई दोषी ठहर गर्दै सजाय निर्धारण गरेको हो।



















