मधेश प्रदेशका विभिन्न सरकारी कार्यालयबाट ३३ विचौलिया नियन्त्रणमा


जनकपुर। मधेश प्रदेशका विभिन्न सरकारी कार्यालयहरूमा सक्रिय विचौलियाहरूलाई नियन्त्रणमा लिइएको छ।

मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार सरकारी सेवा प्रवाहका क्रममा सेवाग्राहीलाई अनुचित प्रभावमा पार्दै आर्थिक शोषण गर्ने तथा छिटो सेवा दिलाइदिने बहानामा अतिरिक्त रकम लिने गतिविधि बढेको जनगुनासो आएपछि यसतर्फ गम्भीर ध्यानाकर्षण भएको हो।

यसैक्रममा मधेश प्रदेशअन्तर्गतका विभिन्न सरकारी कार्यालय तथा सेवा केन्द्रहरूमा सक्रिय रही सर्वसाधारणलाई भ्रममा पार्ने तथा सेवामा अनियमितता ल्याउने कार्यमा संलग्न ३३ जनालाई नियन्त्रणमा लिइ अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका व्यक्तिहरूमा:

  • जिल्ला पर्सा, यातायात व्यवस्था कार्यालय वीरगञ्जबाट ४ जना
  • मालपोत कार्यालय वीरगञ्जबाट ३ जना
  • रौतहट, मालपोत कार्यालय गौरबाट ५ जना
  • मालपोत कार्यालय चन्द्रपुरबाट २ जना
  • सर्लाही, मलंगवा ट्रायल सेन्टरबाट २ जना
  • मालपोत कार्यालय मलंगवाबाट ९ जना
  • धनुषाका विभिन्न सरकारी कार्यालयबाट ४ जना
  • सप्तरीका विभिन्न सरकारी कार्यालयबाट ४ जना रहेका छन्।

प्रहरीले सम्बन्धित निकायहरूसँग समन्वय गरी यस्ता अवैध गतिविधिमा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा नियन्त्रण कार्य जारी रहेको जनाएको छ।

साथै, आम नागरिकलाई सरकारी सेवा लिन जाँदा कुनै पनि विचौलियाको प्रलोभनमा नपर्न र यस्ता गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा जानकारी गराउन अनुरोध गरिएको छ।

कानूनविपरीतका यस्ता कार्यमा संलग्न जो-कोहीलाई प्रचलित कानूनअनुसार कडा कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको