जनकपुरधाम। जनकपुरधाममा मोबाइल किनबेचको सामान्य विवादले हिंसात्मक रूप लिँदा एक जना गम्भीर घाइते भएका छन्।
शुक्रबार जनकपुरधाम उपमहानगरपालिका-२ स्थित “मोबाइल मल” पसलमा भएको घटनामा मोबाइल खरिदकर्ता निर्भय मिश्राले पसलका कामदार नवीन कुसियैतमाथि खुकुरी प्रहार गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय धनुषा का प्रवक्ता गणेशबहादुर बमका अनुसार मोबाइल खरिदको विषयमा विवाद चर्किएपछि मिश्राले कुसियैतमाथि आक्रमण गरेका थिए।
घाइते कुसियैतलाई तत्कालै प्रादेशिक अस्पताल जनकपुरधाम मा भर्ना गरिएको छ, जहाँ उनको उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको जनाइएको छ।
प्रहरीले आक्रमणकारी मिश्रालाई घटनास्थलबाटै नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको छ।
पसल सञ्चालकका अनुसार मिश्राले करिब ६ महिना अघि किस्ताबन्दी (EMI) मा “S25” मोबाइल खरिद गरेका थिए। तीन महिनादेखि किस्ता नतिरेपछि भएको ताकेताले विवाद बढ्दै हिंसात्मक रूप लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।









