पर्सा। पर्साको पोखरिया स्थित मालपोत कार्यालयबाट प्रहरीले तीन जना बिचौलियालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय पोखरिया बाट खटिएको प्रहरी टोलीले शुक्रबार कार्यालय परिसरबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूको नाम भने सार्वजनिक गरिएको छैन।
प्रहरी निरीक्षक प्रदीप पौडेलका अनुसार कार्यालयभित्र अनावश्यक प्रवेश गरी सेवाग्राहीलाई हैरान पार्ने र कर्मचारीलाई समेत दुःख दिने गुनासो आएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेकाहरूले आफूलाई लेखापढी व्यवसायी भएको दाबी गरे पनि सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका तीनै जनालाई हाल इलाका प्रहरी कार्यालयमा राखेर अनुसन्धान अघि बढाइएको छ।









