मलङ्गवामा मासु पसलबाट ठगी, हावा-पानी भरेर बिक्री गरेको खुलासा


सर्लाही। सर्लाहीको मलङ्गवा नगरपालिका-९ बजार क्षेत्रमा रहेका मासु पसलबाट उपभोक्तामाथि चरम ठगी हुने गरेको पाइएको छ।

वडाध्यक्ष चन्देश्वर राय को नेतृत्वमा शनिबार गरिएको अनुगमनका क्रममा मासुको तौल बढाउन हावा र पानी भरेर बिक्री गर्ने जस्ता गम्भीर लापरवाही फेला परेको हो।

उपभोक्ताबाट गुनासो आएपछि खसी र कुखुराको मासु बिक्री गर्ने करिब एक दर्जन पसलमा अनुगमन गरिएको थियो। अनुगमनका क्रममा अधिकांश पसलबाट साइकलमा हावा भर्ने पम्प तथा पानी भर्ने उपकरण बरामद गरिएको वडाध्यक्ष रायले जानकारी दिनुभयो।

“मासु पसलमा उपभोक्तालाई ठगी गर्न यति सम्मको गतिविधि हुन्छ भन्ने कल्पना गरेका थिएनौँ,” रायले भन्नुभयो, “पहिलो पटक सबैलाई सचेत गराएका छौँ, दोहोरिए कडा कारबाही गर्छौँ।”

यसअघि पनि मूल्य वृद्धि र अनियमितताबारे पत्र काटेर सचेत गराउँदा पसल सञ्चालकले बेवास्ता गरेको जनाइएको छ। आइतबार बिहान छलफलका लागि बोलाउँदा समेत व्यवसायीहरू उपस्थित नभएको वडाध्यक्ष रायले बताए।

अनुगमनमा सरसफाइको अवस्था पनि कमजोर पाइएको छ। बजारमा खसीको मासुको मूल्य प्रतिकेजी १ हजार रुपैयाँ तोकिए पनि उपभोक्ताले ११०० देखि १२०० रुपैयाँसम्म तिर्नुपरेको गुनासो गरेका छन्।

सर्लाहीका बजारहरूमा मासु पसलको नियमित अनुगमन नहुँदा अस्वस्थकर तरिकाले वध गर्ने तथा गुणस्तरहीन मासु बिक्री हुने गरेको उपभोक्ताको गुनासो छ। – गोरखापत्र


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको