बर्दिबासमा अवैध उत्खननको आरोप, स्थानीय आक्रोशित


बर्दिबास, महोत्तरी। महोत्तरीको बर्दिबासमा रातिको समयमा अवैध उत्खनन भइरहेको भन्दै स्थानीयवासीले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

बर्दिबास नगरपालिका-६ स्थित जगदम्बा क्रसर आसपास क्षेत्रमा राति र दिउँसो दुवै समयमा उत्खनन भइरहेको स्थानीयको गुनासो छ।

स्थानीयका अनुसार चैत ६ गते राति करिब १ बजेदेखि बिहान ४ बजेसम्म निरन्तर उत्खनन गरिएको थियो भने सोही दिन दिउँसो पनि पुनः उत्खनन जारी राखिएको थियो। उत्खनन गरिएको सामग्री प्रेमनगर, लकडाउन बजार हुँदै पशुपतिनगरतर्फ ढुवानी गरिएको बताइएको छ।

“रातभर उत्खनन गर्ने र बिहानदेखि ढुवानी गर्ने गरिएको छ,” एक स्थानीय प्रतिनिधिले बताए।

उक्त क्षेत्र वडा नम्बर ६ अन्तर्गत पर्ने भए पनि जनप्रतिनिधि मौन रहेको भन्दै स्थानीयवासीले असन्तुष्टि जनाएका छन्। उनीहरूका अनुसार यस्ता गतिविधिले वातावरणीय जोखिम बढाउने, नदी दोहन तीव्र बनाउने तथा खेतीयोग्य जमिनमा क्षति पुर्‍याउने खतरा बढाएको छ।

यसैबीच, स्रोतका अनुसार उक्त उत्खनन गतिविधिमा एक निजी क्रसर उद्योगसँग सम्बन्धित व्यक्तिको संलग्नता हुनसक्ने आशंका गरिएको छ। तर, यसबारे आधिकारिक पुष्टि हुन बाँकी रहेको छ।

स्थानीयवासीले प्रहरी प्रशासन तथा सम्बन्धित निकायको अनुगमन प्रभावकारी नभएको आरोप लगाउँदै निष्पक्ष छानबिन र आवश्यक कारबाहीको माग गरेका छन्। साथै, नजिकै रहेको चौलिखा प्रहरी चौकीले समेत यस्ता गतिविधिमा पर्याप्त ध्यान नदिएको गुनासो गरिएको छ।

उत्खननका कारण बर्दिबास नगरपालिका–७ का स्थानीयवासीसमेत प्रभावित भएका छन्। नदी दोहनका कारण बाढी–कटानको जोखिम बढ्नुका साथै वातावरणीय असन्तुलन हुने खतरा बढेको उनीहरूको भनाइ छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको