बागमती। कर्मचारी अभावका बाबजुद नेपाल विद्युत् प्राधिकरण को हेटौँडास्थित केन्द्रीय वर्कसपले चालु आर्थिक वर्षको सात महिनामा ९ सय ट्रान्सफर्मर मर्मत गरेको छ।
हेटौँडा स्थित वर्कसपका प्रमुख इन्जिनियर राजकुमार श्रेष्ठ का अनुसार आर्थिक वर्ष २०८२/८३ को साउनदेखि हालसम्म विभिन्न जिल्लाबाट बिग्रिएर आएका ट्रान्सफर्मर मर्मत गरी सम्बन्धित ठाउँमा फिर्ता पठाइएको हो।
गत आर्थिक वर्ष २०८१/८२ मा एक हजार ९ सय ५० ट्रान्सफर्मर मर्मत गरेको वर्कसपले चालु आवमा करिब १ हजार ५०० ट्रान्सफर्मर मर्मत गर्ने लक्ष्य लिएको श्रेष्ठले बताए।
“हामीसँग आवश्यक जनशक्ति छैन। केही समय ट्रान्सफर्मरमा प्रयोग हुने तेल र तामाको मूल्य बढ्दा आपूर्तिका लागि टेन्डर हुन नसकेपछि मर्मतको काम रोकिएको थियो,” उनले भने, “पछिल्ला दुई महिनादेखि पुनः मर्मत कार्य भइरहेको छ। लक्ष्य भेटाउने गरी काम गरिरहेका छौँ।”
उक्त वर्कसपले मधेश प्रदेश, गण्डकी प्रदेश का सबै जिल्ला तथा मकवानपुर, चितवन र सिन्धुली जिल्लामा जडान भएका ट्रान्सफर्मर मर्मत गर्दै आएको छ।
कुल ४९ जनाको दरबन्दी रहेको वर्कसपमा हाल २९ जना स्थायी, १५ जना ज्यालादारी र ८ जना करारका कर्मचारी कार्यरत छन्। तर हेल्पर र जुनियर हेल्परको अभावका कारण काममा समस्या भइरहेको प्रमुख श्रेष्ठले बताए।
“ट्रान्सफर्मर खोल्न र जडान गर्न हेल्पर तथा जुनियर हेल्पर आवश्यक हुन्छ। तर हामीसँग ती कर्मचारी तीन जना मात्रै छन्,” उनले भने।
श्रेष्ठका अनुसार ट्रान्सफर्मर मर्मतको दायित्व बढ्दै गए पनि पुरानै दरबन्दीअनुसार जनशक्ति हुँदा अपेक्षित गतिमा काम गर्न कठिनाइ भइरहेको छ। जनशक्ति व्यवस्थापनका लागि केन्द्रमा पटक-पटक पत्राचार गरे पनि खासै उपलब्धि नभएको उनले बताए।
हाल वर्कसपमा मासिक १५० देखि २०० सम्म ट्रान्सफर्मर मर्मत भइरहेका छन्। देशमा खाना पकाउने ग्यास अभावका कारण विद्युतीय चुलोको प्रयोग बढ्न सक्ने तथा गर्मी बढ्दै जाँदा ट्रान्सफर्मरमा थप दबाब पर्न सक्ने भएकाले जनशक्ति नबढाइए आगामी दिनमा समस्या हुनसक्ने उनले चेतावनी दिए।









