पोखरा। पोखरा महानगरपालिका-६ जरेवरस्थित भण्डारी ट्रेडर्स ले ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गरेको फेला परेपछि प्रशासनले ५० हजार रुपैयाँ जरिवाना गरेको छ।
जिल्ला प्रशासन कार्यालय कास्की को नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा उक्त पसलले उपभोक्ता संरक्षण ऐन २०७५ विपरीत गतिविधि गरेको भेटिएपछि तत्कालै जरिवाना गरिएको हो।
शनिबार जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की, नेपाल आयल निगम, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा उपभोक्ता मञ्चका प्रतिनिधि सम्मिलित संयुक्त टोलीले पोखराका विभिन्न पाँच वटा ग्यास डिलरको अनुगमन गरेको थियो।
अनुगमनका क्रममा भण्डारी ट्रेडर्समा १४.२ केजी तौल भएका ४८ थान ग्यास सिलिन्डर अनुचित रूपमा लुकाईछिपाई सञ्चित गरी राखेको अवस्थामा फेला परेको थियो। साथै एउटा सिलिन्डरबाट अर्को सिलिन्डरमा ग्यास सार्ने क्रममा प्रयोग हुने तीन वटा उपकरण समेत बरामद गरिएको टोलीले जनाएको छ।
प्रशासनले उक्त पसललाई ५० हजार रुपैयाँ जरिवाना गर्नुका साथै अनुगमनका क्रममा फेला परेका १४.२ केजीका ४८ थान र ७.१ केजीका ३८ थान ग्यास सिलिन्डर पहिलो आउने उपभोक्तालाई पहिलो सेवा प्रदान गर्ने (फर्स्ट कम, फर्स्ट सर्भ) आधारमा बिना भेदभाव बिक्री वितरण गर्न निर्देशन दिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्साल ले ग्यासको परिमाणमा फेरबदल नगर्न, कृत्रिम अभाव सिर्जना नगर्न र अनावश्यक सञ्चितीकरण नगर्न कडा निर्देशन दिएका छन्। आगामी दिनमा उपभोक्ता हितविपरीत गतिविधि दोहोरिए थप कानुनी कारबाही गरिने चेतावनी पनि प्रशासनले दिएको छ।
अनुगमनकै क्रममा अन्य तीन वटा ग्यास डिलरमा भने ग्यासको मौज्दात तथा भण्डारण अवस्था सामान्य रहेको पाइएको छ। त्यस्तै, एक डिलरमा ७.१ केजी तौलका ३२४ थान ग्यास सिलिन्डर झार्दै गरेको अवस्थामा फेला परेको प्रशासनले जनाएको छ।









