रौतहट। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका-१ मा सवारी साधनको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु भएपछि आक्रोशित स्थानीयले राजमार्ग अवरुद्ध पारेका छन्।
शनिबार राति मंगलपुरका १२ वर्षीय बालकलाई अज्ञात सवारी साधनले ठक्कर दिँदा उनको ज्यान गएको थियो। ठक्कर दिने सवारी साधनको पहिचान हुन नसकेको र चालक पक्राउ नभएको भन्दै स्थानीयवासीले आइतबार बिहानदेखि राजमार्गमा टायर बालेर चक्काजाम गरेका हुन्।
चक्काजामका कारण करिब दुई घण्टादेखि पूर्वबाट पश्चिमतर्फ र पश्चिमबाट पूर्वतर्फ जाने सयौँ सवारी साधन राजमार्गमै रोकिएका छन् भने हजारौँ यात्रु अलपत्र परेका छन्।
स्थिति नियन्त्रणमा लिन र सवारी आवागमन सुचारु गराउन प्रहरी र स्थानीयबीच छलफल भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख प्रहरी नायब उपरीक्षक रूपा लाबुङले जानकारी दिइन्। साथै दुर्घटनामा संलग्न सवारी साधनको खोजी कार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ।









