वीरगन्ज। निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै नेपाली सेनाले सञ्चालन गरेको विशेष सर्च अभियानका क्रममा तीन जनालाई पक्राउ गरिएको छ।
बुधबार बिहान करिब २ बजे वीरगन्ज महानगरपालिका–१६ ईनर्वा क्षेत्रमा विशेष सर्च अपरेशन सञ्चालन गरिएको थियो। धार्मिक द्वन्द्व फैलाउने उद्देश्यले गतिविधि गरिरहेको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिइएको सेनाले जनाएको छ।
पक्राउ पर्नेहरूमा कृष्ण यादव, रोहित पटेल र अवजित यादव रहेका छन्। उनीहरूको साथबाट ९ थान सुतली बम, २ थान मोबाइल, १ थान पावर बैंक, १ थान चार्जर, ५ वटा सेतो तार तथा १ वटा सुंगुरको टाउको बरामद गरिएको छ।
श्रीजंग गणका उपसेनानी विकास मरहठ्ठाका अनुसार धार्मिक सद्भाव खल्बल्याउने उद्देश्यले उक्त सामग्री राखिएको आशंका गरिएको छ।
निर्वाचन अवधिमा कुनै पनि प्रकारको साम्प्रदायिक वा अराजक गतिविधि हुन नदिन सेना पूर्णरूपमा सतर्क रहेको उनले बताए।









