महोत्तरी। आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै प्रहरीले महोत्तरीमा ठूलो मात्रामा मदिराजन्य पदार्थ बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार भंगहा नगरपालिका-५ ढकिया टोलस्थित एक इँटाभट्टाबाट लुकाइछिपाइ राखिएको मदिरा जफत गरिएको हो।
प्रहरी प्रवक्ता शैलेन्द्र भट्टका अनुसार अर्ना बियर ३ कार्टुन, कर्णाली गोल्ड ७ कार्टुन, ब्रिक्स वाइन ३ कार्टुन तथा ब्ल्याक ओके १७ बोतल बरामद गरिएको छ।
निर्वाचनलाई सभ्य, सुव्यवस्थित, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय महोत्तरीले फागुन १४ गतेदेखि नै मदिरा बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ।
अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार मतदानको पूर्वसन्ध्यामा ठूलो परिमाणमा मदिरा फेला परेकाले जफत गरिएको हो। इँटाभट्टामा करिब २५० भन्दा बढी मजदुर कार्यरत रहे पनि त्यहाँ कुनै राजनीतिक दलको झण्डा वा प्रचार सामग्री भने फेला नपरेको जनाइएको छ।
बरामद गरिएको मदिरा नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









