९ फागुन, धनुषा। यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा आचारसंहिताविपरीत टाँसिएका करिब २० हजार चुनावी प्रचार सामग्री हटाइएको छ।
जिल्ला प्रशासन कार्यालय धनुषा ले जनकपुरधाम नगर क्षेत्रभित्र विभिन्न उम्मेदवार तथा राजनीतिक दलले जथाभावी टाँसेका पर्चा, पम्पलेट, ब्यानर र पोस्टर हटाएको जनाएको हो।
प्रशासनका अनुसार सार्वजनिक स्थल, विद्युत्का पोल, सरकारी भवन तथा सडक छेउछाउमा निर्वाचन आचारसंहिताविपरीत टाँसिएका सामग्री हटाइएको हो।
निर्वाचन आचारसंहितालाई प्रभावकारी बनाउन प्रशासनले बिहीबार उम्मेदवार तथा दललाई एक दिनको समय दिँदै नियमविपरीतका प्रचार सामग्री आफैं हटाउन निर्देशन दिएको थियो। तर तोकिएको समयभित्र सामग्री नहटाइएपछि प्रशासनले शुक्रबार स्वयं पहल गरी करिब २० हजार प्रचार सामग्री हटाएको जनाएको छ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल का अनुसार जनकपुरधामका विभिन्न स्थानमा जथाभावी टाँसिएका प्रचार सामग्रीले सहरको सौन्दर्यमा असर पार्नुका साथै निर्वाचन आचारसंहिता उल्लङ्घन भएको पाइएकाले कारबाहीस्वरूप हटाइएको हो।
उनले अब पुनः यस्ता सामग्री टाँसिए कानुनी कारबाही गरिने चेतावनी दिँदै चुनावी वातावरण स्वच्छ, मर्यादित र व्यवस्थित बनाउन आचारसंहिताको कडाइका साथ कार्यान्वयन गरिने बताए।
प्रमुख बजार क्षेत्र, चोक, सार्वजनिक भित्ताहरू तथा सरकारी संरचनामा आचारसंहिताविपरीत प्रचार सामग्री टाँस्ने प्रवृत्ति बढेको उल्लेख गर्दै उनले सबै दल र उम्मेदवारलाई नियमको पालना गर्न आग्रह गरे।
‘नियमविपरीत सामग्री टाँसिए तत्काल हटाइनेछ। अटेर गरेमा सम्बन्धित उम्मेदवार तथा दललाई आवश्यक कारबाही गर्ने अवस्था आउँछ,’ उनले भने, ‘चुनावी वातावरण स्वच्छ र व्यवस्थित बनाउन सबैको सहयोग आवश्यक छ।’









