रौतहट। रौतहटको गौर नगरपालिका-६ स्थित सनगढा गाउँमा दुई समुदायबीच झडप भएपछि अवस्था तनावपूर्ण बनेको छ। घटनापछि सो क्षेत्रमा शान्ति-सुरक्षा कायम गर्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।
बिहीबार राति हिन्दू समुदायको विवाहका क्रममा बाजागाजा बजाइएको विषयलाई लिएर मुस्लिम समुदायसँग विवाद सुरु भएको बताइएको छ। मस्जिदमा रात्री प्रार्थना भइरहेका बेला बाजा बजाएको भन्दै भनाभन बढ्दै जाँदा केही व्यक्तिमाथि कुटपिट समेत भएको थियो।
उक्त घटनापछि शुक्रबार बिहानदेखि पुनः दुवै पक्षबीच झडप भई ढुंगामुढा हुन थालेपछि गाउँमा त्रासको वातावरण सिर्जना भएको छ। स्थिति नियन्त्रणमा लिन प्रशासनले सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ।
प्रमुख जिल्ला अधिकारी दिनेश शागर भुषालले घटनाको पुष्टि गर्दै नेपाल प्रहरीका एसपी सिताराम रिजाल र सशस्त्र प्रहरी बल नेपालका एसपी रामहरी अधिकारी घटनास्थल पुगेको जानकारी दिएका छन्।
उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित अढाई सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। घाइते तथा पक्राउ सम्बन्धी आधिकारिक विवरण आउन बाँकी रहेको र घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रशासनले जनाएको छ।









