प्रादेशिक अस्पताल सिरहामा ३८ लाखभन्दा बढी राजस्व हिनामिना


अख्तियारद्वारा १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

२० माघ, सिरहा। प्रादेशिक अस्पताल सिरहा (साविक जनकपुर अञ्चल अस्पताल) मा सेवा शुल्क संकलनमा गम्भीर अनियमितता भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारले तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्रप्रसाद यादव, डा. सरोज यादव, प्रशासन प्रमुख अशोककुमार सिंह, लेखा प्रमुख अशोककुमार यादवसहित १० जनाविरुद्ध ३८ लाख ७७ हजार ७२४ रुपैयाँ ८३ पैसाको राजस्व हिनामिनामा संलग्न रहेको अभियोगमा मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार अस्पतालका बिलिङ काउन्टरमार्फत संकलन भएको नगद रकम लामो समयसम्म सरकारी राजस्व खातामा दाखिला नगरिएको उजुरी परेपछि अनुसन्धान सुरु गरिएको थियो। अनुसन्धानका क्रममा आर्थिक वर्ष २०८०/०८१ मा अस्पतालका ८ वटा बिलिङ काउन्टरबाट संकलन भएको कुल ३ करोड ८७ लाख ६६ हजार ९७४ रुपैयाँ ८३ पैसामध्ये ३ करोड ४८ लाख ८९ हजार २५० रुपैयाँ मात्र दाखिला भएको र बाँकी ३८ लाख ७७ हजार ७२४ रुपैयाँ ८३ पैसा दाखिला नगरी हिनामिना तथा दुरुपयोग गरिएको पाइएको छ।

महालेखा परीक्षकको प्रतिवेदनमा समेत उक्त रकम कैफियत देखिएको थियो। अख्तियारको निष्कर्षअनुसार बिलिङ सफ्टवेयर र बैंक भौचरबीच आम्दानी विवरण नमिलेको जानकारी हुँदाहुँदै पनि अस्पतालका तत्कालीन प्रमुख तथा जिम्मेवार पदाधिकारीहरूले आपसी मिलेमतोमा रकम हिनामिना गरेका थिए।

अख्तियारको अनुसन्धानमा बिलिङ काउन्टरमा कार्यरत कर्मचारीहरूले फरक-फरक रकम दाखिला नगरेको पाइएको छ। अभियोगपत्रअनुसार श्यामकुमार मण्डलले २५ लाख ४७ हजार ४१७ रुपैयाँ ०१ पैसा, पुजाकुमारी यादवले २ लाख ८८ हजार २२९ रुपैयाँ ४० पैसा, सरस्वतीकुमारी यादवले ५ लाख २ हजार ८१३ रुपैयाँ ७४ पैसा, रोशनकुमार यादवले १ लाख ६४ हजार ६५९ रुपैयाँ ६८ पैसा र अजयकुमार मण्डलले ३ लाख ७९ हजार ०२१ रुपैयाँ ५० पैसा दाखिला नगरेका हुन्।

तत्कालीन कार्यालय प्रमुख डा. नागेन्द्रप्रसाद यादव, डा. सरोज यादव, प्रशासन प्रमुख अशोककुमार सिंह तथा तत्कालीन लेखा प्रमुख अशोककुमार यादवविरुद्ध सम्पूर्ण हिनामिना रकम बराबरको बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद, जरिवाना र बिगो असुल उपरको मागदाबी गरिएको छ।

तत्कालीन लेखा प्रमुख रत्नप्रसाद मण्डलको मृत्यु भइसकेकाले आपराधिक सजायको माग गरिएको छैन। उनले पुर्‍याएको क्षतिपूर्ति रकम उनकी श्रीमती मुस्कानकुमारी मण्डलबाट असुल उपर गर्न मागदाबी गरिएको अख्तियारले जनाएको छ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा सार्वजनिक संस्थाको राजस्व हिनामिना गम्भीर अपराध भएकाले दोषीमाथि कडा कानुनी कारबाहीको माग गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको