१६ माघ, महोत्तरी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट महोत्तरी क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार प्रमोद महतो क्रसर व्यवसायसँग जोडिएको राजस्व विवादमा परेका छन्।
गौशालास्थित मरहा खोलाको किनारमा लामो समयदेखि क्रसर व्यवसाय सञ्चालन गर्दै आएका महतो यसअघि २०७९ मा महोत्तरी-१ (१) बाट प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका थिए। त्यसपछि एमाले र लोसपा हुँदै उनी पछिल्लो समय रास्वपाबाट उम्मेदवार बनेका हुन्। प्रतिनिधिसभा उम्मेदवारका लागि लोसपाबाट नाम सिफारिस भए पनि अन्ततः उनी रास्वपाबाट चुनावी मैदानमा उत्रिएका छन्।
गौशाला नगरपालिका-८ निवासी महतोकी श्रीमतीको नाममा दर्ता रहेको ‘शिवम गिट्टी तथा बालुवा वासिङ सेन्टर’ले भन्टावारी नजिकको खोलाबाट अवैधरूपमा ढुङ्गा, गिट्टी तथा बालुवा २ लाख २५ हजार घनमिटर उत्खनन गरी राजस्व छल गरेको आरोप नगरपालिकाले लगाएको छ। यस सम्बन्धमा गौशाला नगरपालिकाको २०८२ जेठ २३ गते बसेको कार्यपालिका बैठकले करसहित ४ करोड ५० लाख रुपैयाँ राजस्व असुल उपर गर्ने तथा उक्त फर्मको स्थानीय व्यवसाय दर्ता प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको थियो।
नगरपालिकाले तोकेको राजस्व हालसम्म नबुझाइएको जनाएको छ। – kantipur









