९ माघ, सिरहा। सपना कस्को हुँदैन ? कोही डाक्टर बन्न चाहन्छ, कोही इन्जिनियर, कोही अन्य पेशामा। तर रोजगार अवसर र सीपको अभावका कारण धेरै युवा आज पनि विदेशिन बाध्य छन्। यही यथार्थबीच सिरहा नगरपालिका-३, मखनाहाका २३ वर्षीय प्रमेन्द्र कुमार मण्डल युवाका लागि प्रेरक पात्र बनेका छन्।
सिभिल इन्जिनियरिङमा डिप्लोमा अध्ययन गरेका मण्डलले माटोका मूर्ति निर्माणलाई नै आफ्नो मुख्य पेशा बनाएका छन्। यही पेशाले उनको परिवारको आर्थिक आधार बनेको छ।
बाल्यकालमै साना-साना माटोका मूर्ति बनाएर खेल्ने मण्डलले सरस्वती पूजाको दिन साथीहरूसँग दुई-दुई रुपैयाँ चन्दा उठाएर पूजा गर्ने गर्थे। पाँच रुपैयाँ खर्चेर पूजा सामग्री किन्दा पाएको सिर्जनात्मक खुसी आज पनि उनलाई स्मरणीय छ।
कक्षा ४ मा एक महायज्ञमा देखेको ठूलो हनुमानको मूर्तिले उनलाई प्रेरित गर्यो। त्यसपछि उनले स्वयं हनुमानको सानो मूर्ति बनाए र पहिलो पटक १० रुपैयाँमा बेच्न सफल भए। त्यो क्षणले उनले मूर्तिकल्पनाबाट आम्दानी गर्न सकिने विश्वास दिलायो।
निरन्तर अभ्याससँगै उनका मूर्तिको मूल्य पनि बढ्दै गयो। केही समयमै साना मूर्तिहरू ५० रुपैयाँसम्म बिक्री हुन थाले। एक दिन एक शिक्षिकाले उनको मेहनत देखेर ५ सय रुपैयाँ उपहार दिइन्। ‘पहिले १०-५० रुपैयाँ कमाइरहेको ठाउँमा एकैचोटि ५ सय पाउँदा सम्भावना धेरै रहेछ भन्ने महसुस भयो,’ मण्डल भन्छन्। कक्षा ६ सम्म पुग्दा उनले बनेका ६ वटा मूर्ति बजारमा बिक्री गरिसकेका थिए।
क्रमश: बजारमा उनका मूर्तिको चर्चा फैलियो। भारतको जयनगरमा पाइने मूर्तिजस्तै सिरहामै बनेको देख्दा स्थानीय अचम्मित हुन थाले। व्यवसाय सञ्चालनबारे धेरै ज्ञान नहुँदा पनि उनले आफ्नो सीपलाई निरन्तरता दिए।
पहिलो वर्ष करिब २ हजार रुपैयाँ नाफा गरेका मण्डलले दोस्रो वर्ष १२ वटा मूर्ति बिक्री गरी ४० हजार रुपैयाँ आम्दानी गरे। त्यहीँबाट व्यवसाय विस्तार गर्ने निर्णय भयो। पछि गाउँ-घरका पूजा, अष्टजामलगायत धार्मिक कार्यक्रममा मूर्ति निर्माणका अर्डर आउन थाले।
आफ्नो कमाइबाट प्रमेन्द्रले जेठा दाजु धर्मेन्द्र कुमार मण्डललाई इलेक्ट्रोनिक्स इन्जिनियरिङ पढ्न सहयोगसमेत गरे। ‘सानो भाइ भएर दाजुलाई इन्जिनियर पढाउन पाउँदा गर्व लाग्यो,’ उनी भन्छन्।
हाल मण्डलले तीन जना युवालाई ज्यालादारीमा रोजगार दिएका छन् र मूर्तिकला सिकाइरहेका छन्। आर्थिक अभावका कारण ठूला कलेज पढ्न नपाए पनि उनले मनमोहन मेमोरियल पोलिटेक्निकबाट सिभिल इन्जिनियरिङ डिप्लोमा पूरा गरेका छन्।
उनका माटोका मूर्ति अहिले सिरहा जिल्लाभरिका बजारमा र विराटनगरसम्म पुग्ने गरेका छन्। अर्डरअनुसार विभिन्न धर्मसँग सम्बन्धित मूर्ति बनाउन सकिने उनले बताउँछन्।
परम्परागत रूपमा कुम्हाल समुदायसँग जोडिएको कला आफूले सिक्न पाएकोमा गर्व महसुस गर्दै मण्डल युवालाई पढाइसँगै मन परेको सीप पछ्याउन सुझाव दिन्छन्। ‘सीप भयो भने आफ्नै ठाउँमा बसेर पनि काम गर्न सकिन्छ, विदेश जानै पर्दैन,’ उनी भन्छन्।
माटोका मूर्ति उद्योगको दीर्घकालीन व्यवस्थापनका लागि राज्यले बजार समर्थन गर्नुपर्ने आवश्यकतामा उनले जोड दिएका छन्। बाहिरबाट लाखौँ खर्च गरेर मूर्तिकार ल्याउने प्रवृत्ति रोक्दै स्थानीयलाई अवसर दिनुपर्ने उनी बताउँछन्।
सधैं प्रयोग हुने मूर्तिको बिक्रीबाट सबै खर्च कटाएर वार्षिक ८ देखि १० लाख रुपैयाँसम्म आम्दानी हुने मण्डलको अनुभव छ। माटोलाई जीवनको आधार बनाएका प्रमेन्द्र मण्डल आज धेरै युवाका लागि प्रेरणाको स्रोत बनेका छन्।










