२१ पुस, काठमाडौँ – मधेशका विभिन्न जिल्लामा धार्मिक सम्प्रदायबीच आपसी सद्भाव कायम गर्न सात वटा संवैधानिक आयोगहरूले संयुक्त अपील गरेका छन्। सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै आयोगहरूले सबै धार्मिक सम्प्रदायबीच सहिष्णुता, मैत्री र पारस्परिक सम्मान कायम गर्न आग्रह गरेका हुन्।
विज्ञप्तिमा नेपाली समाज सदियौँदेखि विभिन्न जातजाति, भाषाभाषी, संस्कृति, धर्म तथा सम्प्रदायबीच आपसी सद्भाव र सहअस्तित्वको उदाहरण बन्दै आएको उल्लेख गरिएको छ। “नेपाली समाज आपसी सहिष्णुता र सम्मानका आधारमा विविधता बीच एकतामा बाँधिएको समाज हो,” विज्ञप्तिमा भनिएको छ।
तर पछिल्लो समय तराई-मधेशका केही स्थानहरूमा धार्मिक सहिष्णुतामा खलल पार्ने गतिविधि देखिन थालेकोप्रति आयोगहरूले चिन्ता व्यक्त गरेका छन्। यस्ता गतिविधिले सामाजिक एकता कमजोर पार्न सक्ने भन्दै सबै पक्षलाई संयमता अपनाउन र शान्ति कायम गर्न आह्वान गरिएको छ।
आयोगहरूले धार्मिक, सामाजिक तथा राजनीतिक सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गर्दै आपसी सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन संयुक्त रूपमा अपील गरेका छन्।










