बर्दिबास, महोत्तरी। महोत्तरी प्रशासनले आइतबार बर्दिवास बजारमा अनुगमन गरी व्यवसाय सञ्चालनका क्रममा देखिएका त्रुटि सच्याउँदै मापदण्डअनुसार अघि बढ्न व्यवसायीलाई निर्देशन दिएको छ।
बर्दिवासमा सञ्चालित मार्ट, किराना पसल, डिपार्टमेन्ट स्टोर, कस्मेटिक पसल, मिठाई पसल तथा मसाज सेन्टरहरूको अनुगमन गर्दै प्रशासनले नियमअनुसार व्यवसाय सञ्चालन गर्न व्यवसायीलाई सजग र सचेत गराएको हो।
इलाका प्रशासन कार्यालय बर्दिवासका प्रमुख माधवराज न्यौपानेको नेतृत्वमा बर्दिवास उद्योग वाणिज्य संघ, उपभोक्ता संरक्षण मञ्च, प्रहरी तथा अन्य सरोकारवालाको सहभागितामा करिब तीन घण्टा बजार अनुगमन गरिएको थियो।
अनुगमनका क्रममा केही व्यवसायमा कागजपत्र अद्यावधिक नभएको, म्याद गुज्रिएका सामान बिक्रीका लागि राखिएको, उत्पादन मिति नखुलेका सामान भेटिएको, मूल्य सूची नराखिएको तथा बिल नकटाई कारोबार गरिएको जस्ता समस्या देखिएको इलाका प्रशासन प्रमुख न्यौपानेले जानकारी दिए।
पछिल्लो समय मसाज सेन्टरलाई लिएर अनैतिक गतिविधिको गुनासो बढेपछि ती केन्द्रहरूमा पनि विशेष अनुगमन गरिएको उनले बताए। रोयल र रेड रोड मसाज सेन्टरमा बिल नकटाई कारोबार गरिएको र मसाज गर्ने व्यक्तिको व्यक्तिगत विवरण नराखिएको पाइएकाले सबै कर्मचारीको व्यक्तिगत परिचयपत्रसहित विवरण राख्न र अनिवार्य रूपमा बिल काटेर व्यवसाय गर्न निर्देशन दिइएको उनले बताए।
घर संसार, बर्दिवास घर संसार, मेट्रो मार्ट, महतो किराना पसल, एमआर बेकरी, प्रनु कस्मेटिक एण्ड गिफ्ट हाउस, श्रीराम स्वीट एण्ड चाट हाउस तथा विभिन्न मसाज सेन्टरहरूमा गरिएको अनुगमन पहिलोपटक भएकाले तत्काल कारबाही नगरी सचेत मात्रै गराइएको प्रशासनले जनाएको छ।
उपभोक्ता संरक्षण मञ्चका दीपेन्द्र पराजुलीका अनुसार आगामी दिनमा पुनः अनुगमन गर्दा यस्तै त्रुटि दोहोरिएमा कानुनअनुसार जरिवाना तथा आवश्यक कारबाही गरिने चेतावनीसमेत व्यवसायीलाई दिइएको छ।









